कार्यवाहक प्रमुख बनेलगत्तै इम्तियाज आलमको एक्सन: प्रमुख प्रशासकीय अधिकृतसँग महानगरमा छड्के, २० कर्मचारी अनुपस्थित

कार्यवाहक प्रमुख बनेलगत्तै इम्तियाज आलमको एक्सन: प्रमुख प्रशासकीय अधिकृतसँग महानगरमा छड्के, २० कर्मचारी अनुपस्थित

वीरगञ्ज २६ असार

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अभियान सुरु गर्नुभएको छ। कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले शुक्रबार बिहान महानगरपालिकाका विभिन्न शाखा तथा फाँटहरूमा संयुक्त रूपमा आकस्मिक (छड्के) अनुगमन गर्नुभएको हो।

बिहान करिब १०:३० बजे गरिएको अनुगमनका क्रममा विभिन्न शाखामा कार्यरत करिब २० जना कर्मचारी आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए। नेतृत्व तह आफैं कार्यालय पुगेर शाखा–शाखामा अनुगमन गरेपछि कर्मचारी वृत्तमा हलचल मच्चिएको छ भने सेवाग्राहीहरूले यस कदमको स्वागत गरेका छन्।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले प्रशासनिक अनुशासनमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै अनुपस्थित कर्मचारीहरूको विवरण प्रमाणीकरण गरिने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “कतिपय कर्मचारी बिदामा, कतिपय फिल्डमा गएको र केही ढिलो आएको जानकारी प्राप्त भएको छ। सबै विवरणको भेरिफिकेसन गरिनेछ। यदि लापरबाही वा नियमविपरीत काम गरेको पुष्टि भएमा नियमानुसार कारबाही गरिनेछ।”

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले अनुगमनको उद्देश्य कारबाही मात्र नभई सेवाग्राहीका गुनासा बुझ्नु र कर्मचारीहरूले भोगिरहेका व्यवहारिक समस्या पहिचान गर्नु रहेको बताउनुभयो।

उहाँका अनुसार, “महानगरमा आउने सेवाग्राहीका गुनासोलाई हामीले गम्भीर रूपमा लिएका छौँ। साथै पछिल्लो Gen-Z आन्दोलनपछि बदलिएको परिवेशमा कर्मचारीहरूले सेवा प्रवाहका क्रममा भोगिरहेका चुनौतीबारे प्रत्यक्ष जानकारी लिन पनि अनुगमन गरिएको हो।”

कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेको छोटो समयमै आलमले देखाएको सक्रियता र प्रमुख प्रशासकीय अधिकृत बोहराले अपनाएको प्रशासनिक कडाइले वीरगञ्ज महानगरपालिकामा सुशासन, अनुशासन र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकता दिइएको स्पष्ट संकेत दिएको छ। महानगरको यो पहलले आगामी दिनमा सेवा प्रवाह थप पारदर्शी, छिटो–छरितो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।