दशैं, तिहार र छठको सुरक्षामा रौतहट प्रहरीको विशेष योजना, ८९७ प्रहरी परिचालन गरिने

दशैं, तिहार र छठको सुरक्षामा रौतहट प्रहरीको विशेष योजना, ८९७ प्रहरी परिचालन गरिने

प्रेमचन्द्र झा/असोज २३ रौतहट

दशैं, तिहार तथा छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले ट्राफिक प्रहरीसहित कुल ८९७ प्रहरी परिचालन गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले पत्रकार सम्मेलन गरी चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा, ट्राफिक व्यवस्थापन र सीमावर्ती क्षेत्रमा निगरानी बढाइने जानकारी दिएका हुन्।

चाडपर्वका बेला बजारमा हुने भीडभाड, आर्थिक कारोबारमा वृद्धि, घर फर्किने यात्रुको चाप तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट, ठगी र अवैध कारोबारलाई ध्यानमा राखेर प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको एसपी रिजालले बताए। उनका अनुसार संवेदनशील स्थानको निगरानी, पैदल गस्ती, पिकेट, मोबाइल गस्ती, बजार अनुगमन, यात्रु सहायता कक्ष, ड्रोन निगरानी र स्विप अपरेसनलगायत २० प्रकारका प्रहरी गतिविधि सञ्चालन गरिनेछन्।

नागरिकलाई तत्काल प्रहरी सेवा उपलब्ध गराउन जिल्लाका विभिन्न ३४ स्थानमा पिकेट र १० स्थानमा पैदल गस्ती टोली परिचालन गरिनेछ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने पसल र अन्य आर्थिक कारोबारका केन्द्रलाई संवेदनशील क्षेत्रका रूपमा लिई सम्भावित लुटपाट तथा आपराधिक घटना रोक्न विशेष निगरानी गरिने प्रहरीले जनाएको छ।

चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत रहने भएकाले ट्राफिक प्रहरीसहित १० स्थानमा संयुक्त चेकजाँच सञ्चालन गरिनेछ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा लापरवाहीपूर्वक सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरिने सुरक्षा योजनामा उल्लेख छ।

त्यस्तै, चोरी, पाकेटमारी, लुटपाट तथा ठगी नियन्त्रण गर्न र अदालतको फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादी पक्राउ गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। सार्वजनिक यातायातमा यात्रु ठगी, चोरी तथा दुर्व्यवहार हुन नदिन बसपार्क र प्रमुख यातायात केन्द्रमा प्रहरीको उपस्थिति बढाइनेछ।

भारतबाट दशैं, तिहार तथा छठ मनाउन नेपाल आउने नागरिक लुटपाट तथा ठगीमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतीय सीमावर्ती प्रहरी इकाइसँग समन्वय गरिने एसपी रिजालले जानकारी दिए।

यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ। सीमावर्ती क्षेत्रमा पटाका तथा अन्य अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न कुकुरसहितको प्रहरी चेकजाँचसमेत सञ्चालन गरिनेछ।

प्रहरीले सम्भावित अपराध तथा दुर्घटनाका जोखिमयुक्त क्षेत्र अर्थात् हटस्पट पहिचान गरी नियमित र आकस्मिक गस्ती बढाउने योजना बनाएको छ। भीडभाड हुने स्थान, मेला, जात्रा, मुख्य बजार तथा संवेदनशील क्षेत्रमा ड्रोन क्यामेरामार्फत निगरानी गरिनेछ। सीसीटीभी क्यामेरा, ड्रोन तथा १४ वटा मोबाइल गस्तीलाई एकीकृत गरी संवेदनशील स्थानमा २४ घण्टा निगरानीको व्यवस्था मिलाइने प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, उत्तेजनात्मक तथा भ्रमपूर्ण सूचनाको निगरानी गरी त्यस्ता गतिविधिबाट उत्पन्न हुन सक्ने अशान्ति नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिनेछ। धार्मिक तथा सांस्कृतिक स्थलको सुरक्षा संवेदनशीलता मूल्याङ्कन गरी आवश्यकताअनुसार प्रहरी जनशक्ति खटाइने सुरक्षा योजनामा उल्लेख छ।

एसपी रिजालले चाडपर्वलाई मर्यादित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन सम्पूर्ण जिल्लावासी तथा सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। कुनै शंकास्पद गतिविधि, शंकास्पद व्यक्ति वा आपराधिक घटना देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन उनले अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले नागरिकलाई सूचना दिन प्रहरी कन्ट्रोल नम्बर १००, सञ्चार नम्बर ९८५५०९०३७४, सूचना अधिकारीको नम्बर ९८५५०४०६०७ र कार्यालय प्रमुखको नम्बर ९८५५०३५५५५ सार्वजनिक गरेको छ।

असोज २० सम्म २५१ मुद्दा दर्ता, १५६ फर्छ्योट
पत्रकार सम्मेलनमा एसपी रिजालले आर्थिक वर्ष २०८३/०८४ को असोज २० गतेसम्म जिल्ला प्रहरी कार्यालय रौतहटबाट भएका प्रमुख कामकारबाहीको विवरणसमेत प्रस्तुत गरेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार उक्त अवधिमा जिल्लामा २५१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १५६ वटा मुद्दा फर्छ्योट भएका छन् भने ९५ वटा मुद्दा अनुसन्धानको क्रममा रहेका छन्।

लागुऔषध नियन्त्रणतर्फ पाँचवटा मुद्दा दर्ता गरी छ जना पक्राउ परेका छन्। पक्राउ तथा अनुसन्धानका क्रममा पाँच किलो १६५ ग्राम गाँजा, १५ ग्राम १६५ मिलिग्राम ब्राउनसुगर र ७१ पिस मनोदिपक पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ १३५ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीद्वारा प्रस्तुत विवरणमा ६७ वर्ष एक महिना चार दिन कैद र ६६ लाख ६३ हजार ९७० रुपैयाँ जरिवानासम्बन्धी तथ्याङ्क उल्लेख गरिएको छ।

सवारी दुर्घटनामा १२ जनाको मृत्यु, ३६५ जना घाइते
सवारी दुर्घटनातर्फ असोज २० गतेसम्म रौतहटमा १८१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकलाई कारबाही गरी २४८ वटा कारबाहीबाट २० लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा सवारी चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

नागरिकका गुनासा तथा ठाडो उजुरीतर्फ ६६६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ५७२ वटा फर्छ्योट भएका छन् भने ९४ वटा उजुरी प्रक्रियामा रहेका छन्।
भन्सार छली नियन्त्रणबाट ५७ लाखभन्दा बढी राजस्व
भन्सार छली नियन्त्रणका क्रममा सात जना पक्राउ परेका छन् भने पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्।

उक्त अवधिमा भन्सार दाखिलाबाट ५७ लाख ५३ हजार ३६३ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीको विवरणमा उल्लेख छ। अवैध नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा २६ वटा सवारीसाधन र आठ जनामाथि कारबाही गरिएको छ।

यसबाट एक लाख ४५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, अवैध काठ बरामद गर्ने क्रममा चारवटा साइकल र तीनवटा ट्र्याक्टर गरी सातवटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्। प्रहरीले २३१ घनफिट काठ बरामद गर्नुका साथै तीन जनालाई पक्राउ गरेको र दुई लाख ६७ हजार ४५ रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ।

१८ हजार ७५३ सेवाग्राहीले लिए प्रहरी सेवा
जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कअनुसार उक्त अवधिमा प्रहरी सेवाबाट १८ हजार ७५३ जना सेवाग्राही लाभान्वित भएका छन्। लाभान्वितमध्ये चार हजार ५२८ जना महिला, १३ हजार ५६१ जना पुरुष र ६६४ जना बालबालिका रहेका छन्।

रौतहट जिल्लाको कुल क्षेत्रफल एक हजार १२६ वर्ग किलोमिटर र जनसङ्ख्या आठ लाख १३ हजार ५७३ रहेको प्रहरीको विवरणमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको स्वीकृत दरबन्दी ९०४ जना भए पनि हाल ८१९ जना प्रहरी कर्मचारी कार्यरत छन्।

प्रहरी कर्मचारीको कार्यसम्पादन, अनुशासन र क्षमता अभिवृद्धिका क्रममा उक्त अवधिमा ११ जना पुरस्कृत, १२ जना कारबाहीमा र ३५ जना तालिममा सहभागी भएको विवरणसमेत सार्वजनिक गरिएको छ।

चाडपर्वको सुरक्षा योजनासँगै अपराध अनुसन्धान, फैसला कार्यान्वयन, ट्राफिक व्यवस्थापन, अवैध कारोबार नियन्त्रण र नागरिकका गुनासा सम्बोधन गर्ने कामलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्त्यमा एसपी रिजालले दशैं, तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण जिल्लावासीमा सुख, शान्ति, समृद्धि र सुरक्षाको कामना गर्दै हार्दिक मंगलमय । शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।