नौं बुँदे सहमति र लिखत सम्बन्धी निर्णयको विरोधमा पर्साका साहुहरूको प्रदर्शन
नौं बुँदे सहमति र लिखत सम्बन्धी निर्णयको विरोधमा पर्साका साहुहरूको प्रदर्शन

वीरगञ्ज ९ साउन
सरकार र मिटरब्याजपीडितबीच भएको नौबुँदे सहमति तथा लिखत, कपाली तमसुक, चेक र दृष्टिबन्धकसम्बन्धी सरकारका निर्णयको विरोधमा पर्साका ऋण लगानीकर्ता तथा साहुहरूले आज वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन्।
लेनदेन पीडित संघर्ष समिति, पर्साको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले जुलुससहित वीरगञ्ज बजारका विभिन्न भागमा परिक्रमा गर्दै सरकारको निर्णयप्रति विरोध जनाएका हुन्। पर्सा जिल्ला समन्वय समिति अगाडिबाट सुरु भएको र्याली वीरगञ्जको घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागी साहुहरूले मिटरब्याजको नाममा भइरहेको आतंक बन्द गर्न, कानुनबमोजिम गरिएको लगानी फिर्ता पाउने व्यवस्था गर्न, आपसी लेनदेनलाई मिटरब्याजको आरोप नलगाउन, ठगी गर्ने ऋणीहरूसँग गरिएका एकलौटी सम्झौता खारेज गर्न तथा विधिको शासन कायम गर्न माग गरेका छन्।
त्यस्तै, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न, कानुनसम्मत रूपमा भएका लेनदेनको संरक्षण गर्न, लगानीकर्तालाई एकपक्षीय रूपमा दोषी ठहर नगर्न तथा ‘मिटरब्याजी’ शब्दको दुरुपयोग बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा पाँच वर्षअघि खरिद गरेको घरका कारण आफू अहिले मिटरब्याजीको आरोप खेप्नुपरेको भन्दै एक साहुले आफ्नो पीडा व्यक्त गरे। उनले कानुनबमोजिम गरिएको लेनदेनलाई समेत मिटरब्याजको आरोप लगाएर आफूहरूलाई पीडित बनाइएको गुनासो गरे।
सरकारले मिटरब्याजपीडितसँग गरेको सहमतिको आधारमा लेनदेनसम्बन्धी लिखतलाई अवैध ठहर गर्ने निर्णय गरेको भन्दै समितिले त्यसप्रति आपत्ति जनाएको छ। आर्थिक संकटका बेला आवश्यक परेका व्यक्तिलाई सहयोगस्वरूप रकम उपलब्ध गराई प्रचलित कानुनअनुसार लिखित कागजात तयार गरेर गरिएको लेनदेनलाई एकतर्फी रूपमा अवैध ठहर गर्नु न्यायोचित नभएको समितिको दाबी छ।
समितिले ऋणी र लगानीकर्ता दुवै पक्षको कुरा सुनेर निष्पक्ष छानबिन गर्न, दोषीलाई मात्र कानुनी कारबाही गर्न र निर्दोष लगानीकर्तालाई अनावश्यक रूपमा प्रताडित नगर्न सरकारसँग माग गरेको छ।
आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत समितिले दिएको छ।





