अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न
अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु २३ साउन
कपिलवस्तुको विजयनगर गाउँपालिकामा कानुनी सचेतना तथा परामर्श सेवाका लागि घुम्ती शिविर सम्पन्न भएको छ । नवजीवन संस्था र फोेडेको सहकार्यमा आयोजित शिविरमा महिला, दलित महिला, मुस्लिम महिला, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यकको अवस्था, अधिकार र कानुनी विषयमा प्रशिक्षण तथा परामर्श प्रदान गरिएको नवजीवन संस्थाकी फेलाे अर्पना सुनारले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समाजमा कसैलाई पनि अपहेलित नगरी सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । अवसर र सम्मानको सवालमा राजनीतिक क्षेत्र लगायत अन्य क्षेत्रमा पनि पछाडि परेका समुदायलाई अगाडी बढाउन तीनै तहका सरकारले चासो लिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाई छ । उपलब्ध अवसरका लागि सम्बन्धित समुदायका व्यक्तिहरू पनि तयार हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।
यस्तै नवजीवन संस्थाकी संयोजक प्रेरणा विष्टले लक्षित समुदायलाई आफ्ना अधिकार र कानुनी विषयमा जानकारी गराउँदै आवश्यक परेको अवस्थामा परामर्श तथा सहयोग प्राप्त गर्ने वातावरण बनाउन शिविर आयोजना गरिएको बताइन् । उनले महिला, दलित, मुस्लिम, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यकले भोगिरहेका समस्या र चुनौतीबारे सचेतना बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् ।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता सञ्जय कुमार पासीले कानुनी अधिकार, विद्यमान कानुनी व्यवस्था तथा लक्षित समुदायले पाउने सेवा-सुविधाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, यौनिक अल्पसंख्यक, प्रहरी, महिला, बालबालिका लगायतकाे सहभागीता थियोे ।






