नगर विकास कोषमा बोदेबरसाइनका नगर प्रमुख सिंहको ‘इन्ट्री’

स्थानीय तहको पूर्वाधार र सहरी विकासका विषयमा भूमिका निर्वाह गर्ने जिम्मेवारी

सप्तरी २ भदौ 

बोदेबरसाइन नगरपालिकाका नगर प्रमुख आतेष कुमार सिंह नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन्।

नगर विकास कोषले २०८३/०४/२५ गते जारी गरेको पत्रअनुसार नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा (२) (घ) बमोजिम नगर प्रमुख सिंहलाई सञ्चालक समिति सदस्यमा मनोनित गरिएको हो।

मन्त्रालयका सहसचिव दिलीप भण्डारीद्वारा हस्ताक्षरित पत्रमा सिंहलाई सञ्चालक समिति सदस्यमा मनोनित गरिएको उल्लेख छ। उक्त जिम्मेवारीसँगै सिंहले नगर विकास कोषमार्फत स्थानीय तहको विकास, पूर्वाधार निर्माण तथा सहरी सेवा विस्तारसँग सम्बन्धित विषयमा भूमिका निर्वाह गर्नेछन्।

नगर विकास कोषको सञ्चालक समितिमा बोदेबरसाइनका नगर प्रमुख सिंहको प्रतिनिधित्वलाई स्थानीय तहका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसबाट स्थानीय तहका पूर्वाधार विकास, सहरी सेवा विस्तार तथा विकास निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारको आवाज थप प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगर विकास कोषको सञ्चालक समितिमा प्राप्त जिम्मेवारीले बोदेबरसाइन नगरपालिकाका साथै समग्र स्थानीय तहका विकासका सवाललाई नीतिगत तहमा उठाउन समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।