गैँडा धपाउने क्रममा रेन्जर बस्नेत घाइते, वन प्रमुख मन्जुर अहमदले स्थानीय बासीहरुलाई सतर्क रहन आग्रह गरेका छन
गैँडा धपाउने क्रममा रेन्जर बस्नेत घाइते, वन प्रमुख मन्जुर अहमदले स्थानीय बासीहरुलाई सतर्क रहन आग्रह गरेका छन

पर्सा ४ भदौ
पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको गैँडा धपाउने क्रममा बसन्तपुर सब–डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख रेन्जर यमबहादुर बस्नेत घाइते भएका छन्।
पर्साको जगरनाथपुर गाउँपालिका–पाडेपुर स्थित धान खेतमा प्रवेश गरेको गैँडालाई सुरक्षित रूपमा जंगलतर्फ धपाउने क्रममा गैँडाले बस्नेतमाथि आक्रमण गरेको हो। आक्रमणबाट बस्नेतको बायाँ खुट्टामा चोट तथा घाउ लागेको जनाइएको छ।
घाइते बस्नेतलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ। गैँडा बस्ती तथा खेतीयोग्य क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास बढेको छ। घटनापछि वन कार्यालय तथा सम्बन्धित निकायले गैँडाको गतिविधिमाथि निगरानी बढाउँदै गैँडालाई सुरक्षित रूपमा निकुञ्ज क्षेत्रमा फर्काउने प्रयास गरिरहेका छन्।
यसैबीच डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले गैँडा देखिएमा नजिक नजान, जिस्क्याउने वा आफैं धपाउने प्रयास नगर्न तथा सुरक्षित दूरी कायम गर्न अनुरोध गरेका छन्।
प्रमुख अहमदले गैँडा बस्ती वा खेतबारीमा देखिए तत्काल वन कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गर्दै भीड जम्मा भएर गैँडालाई घेराबन्दी गर्ने, ढुंगा हान्ने वा लखेट्ने प्रयास नगर्न समेत अपिल गरेका छन्।
वन कार्यालयका अनुसार गैँडाको गतिविधिमाथि निगरानी राखिएको छ भने वन कर्मचारी तथा सम्बन्धित निकायको टोलीले त्यसलाई सुरक्षित रूपमा निकुञ्ज क्षेत्रमा फर्काउने प्रयास गरिरहेको छ।





