‘राजेन्द्र विमलसँग हरेक समस्याको समाधान थियो’ — वक्ता
मैथिली साहित्यका अग्रणी स्रष्टा डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा व्यक्तित्व, योगदान र मधेसका चुनौतीबारे गहन चर्चा

काठमाडौँ ६ भदौ
मैथिली साहित्यका अग्रणी स्रष्टा एवं प्राध्यापक डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा वक्ताहरूले उनको साहित्यिक योगदान, व्यक्तित्व तथा मधेसका समसामयिक चुनौतीबारे गहन चर्चा गरेका छन्।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले डा. विमलमा वैराग्य र तपस्याको अंश रहेको उल्लेख गर्दै उनलाई जनकपुरबाट अलग राखेर हेर्न नसकिने बताए।
लालका अनुसार विमल मधेसका चुनौतीबारे निकै सचेत थिए। उनले मधेसमा उत्पादन घट्दै गएको, व्यापार प्रभावित भएको र विकासको गति रोकिएको अवस्थामा हिन्दुत्वको राजनीति तथा धार्मिक अतिवाद बढ्दै गए मधेसवाद नै कमजोर हुनसक्ने खतरा औंल्याए।
विभिन्न जाति र भाषाबीच देखिन सक्ने विवाद समाधानमा पनि विमलको साहित्यिक चेतना महत्वपूर्ण रहेको लालले बताए। उनका अनुसार विमलमा साहित्यका माध्यमबाट जातिवाद तथा भाषिक विवादलाई सम्बोधन गर्ने क्षमता थियो।
मधेस आन्दोलनका क्रममा विमलले आलोचना र गालीसमेत सहनुपरेको स्मरण गर्दै लालले ढाका टोपी लगाउनु कुनै अपराध नभएको बताए। मधेसको पक्षमा बोल्ने र लेख्नेहरू कम भएको अवस्थामा पनि विमलले निरन्तर आफ्नो आवाज उठाएको उनले स्मरण गरे।
कार्यक्रममा वरिष्ठ पत्रकार सीताराम अग्रहरीले डा. विमलसँग मिथिलाको इतिहास र जानकी मन्दिरबारे अद्भुत ज्ञान रहेको बताए। उनले विमललाई नेपालका विद्यापति र रवीन्द्रनाथ टैगोरसँग तुलना गर्दै आधुनिक याज्ञवल्क्य र अष्टावक्रको संज्ञासमेत दिए।
मैथिली साहित्य पढ्ने पाठकको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अग्रहरीले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि जगाउन आवश्यक रहेको बताए।
कार्यक्रममा राजनीतिकर्मी विमल केडियाले डा. राजेन्द्र विमलको पहिचान र योगदानको राज्यले उचित सम्मान गर्नुपर्ने माग गरे। उनले विमलको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्नुपर्ने तथा राज्यस्तरबाट ठोस सम्मान र योगदानको कदर हुनुपर्नेमा जोड दिए।
प्रतिष्ठानकी अध्यक्ष ममता चौधरीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सहभागी वक्ताहरूले डा. विमललाई मैथिली भाषा, साहित्य र मिथिला संस्कृतिको महत्वपूर्ण अभियन्ताका रूपमा स्मरण गरेका थिए।
डा. राजेन्द्र विमलको गत साउन २६ गते जनकपुरमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनले मैथिली साहित्य तथा मिथिला क्षेत्रले महत्वपूर्ण साहित्यिक व्यक्तित्व गुमाएको वक्ताहरूले बताएका छन्।






