रसुवा–नुवाकोट बाढीपीडितलाई एनआरएनएको ५ करोडको राहत, पदाधिकारी नै फिल्डमा

रसुवा–नुवाकोट बाढीपीडितलाई एनआरएनएको ५ करोडको राहत, पदाधिकारी नै फिल्डमा

काठमाडौं ११ भदौ 

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन संघका पदाधिकारीसहितको टोली बिहीबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटमा ठूलो क्षति भएपछि एनआरएनएले तत्काल उद्धार तथा राहत अभियान अघि बढाएको हो। संघको टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्ने, स्थानीय आवश्यकता पहिचान गर्ने तथा त्यसका आधारमा राहत सामग्री वितरण, उद्धार र स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले विपद्को यस कठिन घडीमा विश्वभर रहेका गैरआवासीय नेपालीलाई प्रभावित नागरिकको सहयोगमा जुट्न आह्वान गरेका छन्।

“यो विपद्को घडीमा विश्वभर रहेका गैरआवासीय नेपाली एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन आवश्यक छ,” शर्माले भने, “एनआरएनए तत्काल उद्धार र राहतदेखि स्वास्थ्य सेवा तथा पुनःस्थापनासम्मका काममा सक्रिय रूपमा अघि बढ्छ।”

एनआरएनएका उपाध्यक्ष तथा राहत समितिका संयोजक **मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’**ले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहतको प्राथमिकता निर्धारण गरिने बताए। स्थानीय प्रशासन, नेपाल सरकारका सम्बन्धित निकाय तथा स्थानीयसँग समन्वय गरेर राहत वितरण गरिने उनको भनाइ छ।

उनका अनुसार तत्काल राहतसँगै बाढी तथा पहिरोबाट प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत संघले आवश्यक सहयोग गर्नेछ।

त्यस्तै, एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका उपसंयोजक प्रविन गुरुङ प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा खटिएका छन्। उनले स्थानीय अवस्था बुझेर तत्काल आवश्यकताका आधारमा थप राहत परिचालन गरिने बताए।

“विपद्को यो पीडादायी अवस्थामा विश्वभर रहेका नेपालीले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ,” गुरुङले भने, “एनआरएनएको टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरणसँगै उद्धार कार्यमा पनि सक्रिय हुनेछ।”

यसैगरी एनआरएनएका उपाध्यक्ष भीमसेन थापाले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्। थापा स्वयं पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सक्रिय हुने बताइएको छ।

एनआरएनएले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सामग्री, औषधिलगायत आवश्यक राहत सामग्री वितरण गर्ने तयारी गरेको छ। राहतलाई प्रभावकारी र लक्षित बनाउन स्थानीय तह, प्रशासन तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरिने संघले जनाएको छ।

स्वास्थ्य सेवाका लागि विशेष चिकित्सक टोली

एनआरएनएका संस्थापक अध्यक्ष एवं मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्‍याउन विशेष चिकित्सक टोली परिचालन गर्ने बताएका छन्।

चिकित्सक टोलीले प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ।

पदाधिकारीसहितको टोली फिल्डमै

राहत तथा उद्धार अभियानका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक बद्री केसी, अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष लोकप्रसाद दाहाल, उपाध्यक्ष रोजिना प्रधान, उपाध्यक्ष प्रविन गुरुङ, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’, युवा उपाध्यक्ष भीमसेन थापा, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, युरोप पूर्व युवा संयोजक प्रकाश भण्डारीलगायत संघका पदाधिकारी तथा विभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरू प्रभावित क्षेत्रमा परिचालन हुने जानकारी दिइएको छ।

संघले नेपाल सरकारसँग प्रत्यक्ष समन्वयका लागि एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ। अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध गराइने सहयोगबीच प्रभावकारी समन्वय गर्नेछन्।

एनआरएनएका अनुसार तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनालाई समेत अभियानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाइनेछ। विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गर्दै वास्तविक रूपमा प्रभावित नागरिकसम्म पुर्‍याउने गरी अभियान सञ्चालन गरिने संघले जनाएको छ।

प्राकृतिक विपद्का बेला नेपाल र नेपालीको साथमा उभिँदै आएको एनआरएनएले यसपटक पनि आफ्ना पदाधिकारीलाई प्रत्यक्ष रूपमा फिल्डमा परिचालन गर्दै राहत, उद्धार, स्वास्थ्य सेवा र पुनःस्थापनाको अभियान अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।