गौर राइस मिल्समा भएको तोडफोडप्रति वरिष्ठ पत्रकार झाको भर्त्सना, आयोजक र प्रशासनको भूमिकामाथि प्रश्न
गौर राइस मिल्समा भएको तोडफोडप्रति वरिष्ठ पत्रकार झाको भर्त्सना, आयोजक र प्रशासनको भूमिकामाथि प्रश्न

प्रेमचन्द्र झा , मंसिर ११ रौतहट
रौतहटको गौरस्थित राइस मिल्स परिसरमा बिहीबार राति रौतहट एक्सपोका क्रममा भएको तोडफोड तथा अवाञ्छित गतिविधिप्रति वरिष्ठ पत्रकार प्रभात कुमार झाले कडा भर्त्सना गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै एक्सपो आयोजक रौतहट उद्योग वाणिज्य संघ तथा निर्माण व्यवसायी संघको व्यवस्थापकीय भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले एक्सपोमा तोडफोड र हुलहुज्जत हुनु निन्दनीय भएको उल्लेख गरेका छन्। तर, यस्तो घटना किन र कसरी भयो भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ। उनले घटनाको नैतिक जिम्मेवारी आयोजक संस्थाहरूले लिनुपर्ने भन्दै एक्सपोको उद्देश्य, कार्यक्रम सञ्चालन र सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठाएका छन्।
‘रौतहट एक्सपो’ नाम दिएर आयोजना गरिएको मेलामा स्थानीय उत्पादन तथा निर्माण सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा त्यसअनुसारका स्टलहरू पर्याप्त रूपमा नराखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय उद्योग, व्यवसाय, उत्पादन र निर्माण क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले एक्सपो आयोजना गरिएको हो भने स्थानीय उत्पादन तथा निर्माण सामग्रीका स्टलहरू कहाँ छन् भन्ने प्रश्न उनले उठाएका छन्।
स्थानीय उत्पादनलाई प्रोत्साहन र उद्यमी व्यवसायीलाई बजार उपलब्ध गराउनुको सट्टा विवादित कलाकारलाई मञ्चमा प्रस्तुत गरेर दर्शक आकर्षित गर्ने गतिविधिलाई प्राथमिकता दिइएको उनको आरोप छ। मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्दा दर्शकको सुरक्षा र मर्यादालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।
विशेषगरी मेलामा प्रवेश गर्ने दर्शकको सुरक्षा जाँच तथा निगरानी प्रभावकारी नभएको विषयलाई उनले गम्भीर सुरक्षा कमजोरीका रूपमा औँल्याएका छन्। टिकट बिक्रीमा मात्र आयोजकको ध्यान केन्द्रित भएको तर मेला परिसरभित्र प्रवेश गर्ने व्यक्तिको जाँच, भीड व्यवस्थापन र सम्भावित जोखिम नियन्त्रणमा पर्याप्त ध्यान नदिइएको उनको टिप्पणी छ।
मेलामा साना बालबालिकासहित सयौँ महिला तथा परिवारका सदस्यहरू सहभागी भएको अवस्थामा सुरक्षा व्यवस्थापन झनै संवेदनशील हुनुपर्ने उनले बताएका छन्। यस्तो अवस्थामा कुनै अप्रिय घटना भएको भए त्यसको जिम्मेवारी कसले लिने थियो भन्ने प्रश्न गर्दै उनले आयोजकको लापरबाहीले सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्न सक्ने अवस्था सिर्जना गरेको आशय व्यक्त गरेका छन्।
झाले घटनाको जिम्मेवारी आयोजक संस्थामा मात्र सीमित नराखी स्थानीय प्रशासनको भूमिकाको समेत समीक्षा गर्नुपर्ने बताएका छन्। मेलामा शान्ति सुरक्षा कायम गर्ने पर्याप्त व्यवस्था थिएन भने आयोजना सञ्चालनको अनुमति किन दिइयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने उनको भनाइ छ। सार्वजनिक कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रशासनले सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्नुपर्ने र कुनै अप्रिय घटना हुन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने उनले उल्लेख गरेका छन्।
उनले बिहीबार रातिको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेका छन्। केही व्यक्तिको उच्छृङ्खल र अशिष्ट व्यवहारका कारण रौतहट एक्सपोको प्रतिष्ठामाथि नै आँच पुगेको उनको टिप्पणी छ।
स्थानीय उत्पादन, उद्योग, व्यापार तथा निर्माण क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने एक्सपोले जिल्लाको आर्थिक तथा व्यावसायिक पहिचान स्थापित गर्नुपर्नेमा अव्यवस्था, विवाद र तोडफोडका कारण बदनाम हुनुपर्ने अवस्था दुःखद भएको उनले बताएका छन्।
झाले उठाएका प्रश्नहरूले रौतहट एक्सपोको आयोजकीय क्षमता, सुरक्षा व्यवस्थापन, स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्रशासनिक अनुगमनको प्रभावकारिताबारे बहस सिर्जना गरेको छ। अब सम्बन्धित आयोजक संस्था र स्थानीय प्रशासनले घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै सुरक्षा व्यवस्थापनमा देखिएका कमजोरीबारे स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता देखिएको छ।






