रौतहटमा १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा ४५ वर्षीय मौलाना प्रहरी हिरासतमा

रौतहटमा १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा ४५ वर्षीय मौलाना प्रहरी हिरासतमा

प्रेमचन्द्र झा,मंसिर ११ रौतहट

रौतहटमा नौ सन्तानका बाबु रहेका एक ४५ वर्षीय मौलाना १५ वर्षीया नाबालिग बालिकासँग विवाह गरेको आरोपमा प्रहरी हिरासतमा परेका छन्।

परोहा नगरपालिका–३, तेजापाकड निवासी मौलाना मुख्ती मिनाहाजलाई नाबालिग बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।प्राप्त जानकारीअनुसार, मिनाहाजको यसअघि नै श्रीमती र आठ जना छोराछोरी छन्।

आफ्नै परिवार हुँदाहुँदै नाबालिग बालिकासँग विवाह गरेको घटना सार्वजनिक भएपछि स्थानीयवासीले विरोध जनाएका छन्। घटनालाई लिएर स्थानीयस्तरमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

यसैबीच, घटनालाई राजनीतिक पहुँच र आर्थिक प्रभाव प्रयोग गरेर मिलाउने प्रयास भइरहेको आशंकासमेत स्थानीयस्तरमा व्यक्त गरिएको छ। तर यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

त्यस्तै, सम्बन्धित मदरसामा करिब छ महिनाअघि पनि यस्तै प्रकृतिका तीनवटा घटना भएको दाबी सार्वजनिक भएको छ। उक्त दाबीको समेत सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।

स्थानीयवासीले नाबालिग बालिकाको सुरक्षा र भविष्यलाई ध्यानमा राख्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। कुनै पनि राजनीतिक दबाब वा आर्थिक प्रभावमा नपरी दोषी देखिने व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने उनीहरूको माग छ।

बालविवाह कानुनविपरीत कार्य हो। त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरी पीडित बालिकाको सुरक्षा, गोपनीयता र न्याय सुनिश्चित गर्नु सम्बन्धित निकायको प्रमुख जिम्मेवारी हो। यद्यपि, आरोपितमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले अन्तिम निर्णय कानुनी प्रक्रियाबाटै हुनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।