कांग्रेस कार्यसम्पादन समिति बैठक : पहिले एमसीसी पास गरौँ, अनि गठबन्धनबारे सोचौँला

प्रमुख सत्तारुढ नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सानेपामा बसिरहेको छ । बैठकमा कांग्रेसले विभिन्न एजेण्डामा छलफल गर्दै निर्णय पनि लिएको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिएका छन्।

बैठकमा सहभागी नेताहरुले अब अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन पास गरेर जानुपर्ने धारणा राखेको कोइरालाले बताएका छन्।

‘आजको बैठकमा पनि हाम्रो भनाइ भनेको एमसीसीलाई पारित गर्नुपर्छ भन्ने नै हो। ५ सय मिलियन डलरको आएको छ’, कोइरालाले बैठकमा भएको छलफलबारे भने, ‘एमसीसीबारे कांग्रेस प्रष्ट छ। आजको बैठकमा पनि त्यही कुरा भएको छ। एमसीसीबारे रहेका भ्रम जनतामा गएर सम्झाउने हो’, उनले भने, ‘एमसीसी नेपालको लागि राम्रो हो। अमेरिकी सेना नेपालमा आउने होइन। यो कुनै सैन्य रणनीतिसँग जोडिएको छैन। जनमानसमा रहेका भ्रम चिर्ने गरी जाने छलफल भएको छ।’

बैठकमा नेता डा. रामशरण महतले लामो कुरा राखेको कोइरालाले बताए। ‘डा. महतले आजको बैठकमा एमसीसीबारे लामो व्याख्या गर्नु भएको छ’, उनले भने, ‘एमसीसीबारे अनावश्यक भ्रम छरिएको उहाँको तर्क थियो। हामीले पनि त्यही अनुसार एमसीसी पास गर्ने गरी अघि बढ्ने कुरा भएको छ।’

नेता कोइरालाले पहिले एमसीसी पास गर्ने गरी अघि बढेर त्यसपछि पाँच दलीय गठबन्धनबारे सोच्नुपर्ने कुरा बैठकमा भएको पनि बताएका छन्।

‘पहिले एमसीसीलाई संसदबाट पारित गर्नुपर्छ भन्ने भएको छ। त्यसपछि गठबन्धनबारे सोचौँला’, उनले भने, ‘एमसीसीलाई यसरी अल्झाइराख्ने पक्षमा कांग्रेस छैन। अब पास गरेर जानुपर्छ। बैठकमा एमसीसी पास गरेपछि गठबन्धनबारे सोच्न सकिने कुरा भएको छ।’ नेपाल खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।