डा. विजयकुमार दत्तको प्रमुख आतिथ्यमा जनकपुर र सप्तरीमा चिनियाँ दूतावासको सहयोग, शिक्षा–स्वास्थ्य र खानेपानी क्षेत्रमा विभिन्न सामग्री हस्तान्तरण

डा. विजयकुमार दत्तको प्रमुख आतिथ्यमा जनकपुर र सप्तरीमा चिनियाँ दूतावासको सहयोग, शिक्षा–स्वास्थ्य र खानेपानी क्षेत्रमा विभिन्न सामग्री हस्तान्तरण

काठमाडौं १ मंसिर 

मधेशी आयोगका प्रथम अध्यक्ष डा. विजयकुमार दत्तको प्रमुख आतिथ्यमा नेपालस्थित चिनियाँ राजदूतावासले मधेश प्रदेशका जनकपुरधाम र सप्तरीमा शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रलाई लक्षित गरी विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ।

चिनियाँ दूतावास र चाइना युथ पायोनियरको सहकार्यमा सञ्चालित ‘उज्यालो भविष्य परियोजना’ तथा ‘भाइब्रेन्ट भिलेज परियोजना’ अन्तर्गत दुई जिल्लाका विद्यालय, प्रसूति सेवा केन्द्र तथा स्थानीय समुदायलाई सहयोग गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका–११ स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका आठवटा कक्षाकोठाका लागि डेस्क–बेन्च, एक थान वासिङ मेसिन, ७०० थान विद्यालय झोला, कापी, कलमलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। साथै आगामी वर्षदेखि विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजनासमेत जानकारी गराइएको थियो।

कार्यक्रममा मधेशी आयोगका प्रथम अध्यक्ष डा. विजयकुमार दत्त प्रमुख अतिथि तथा चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभागका निर्देशक यु पेङचेङको उपस्थिति रहेको थियो। त्यसैगरी परियोजना व्यवस्थापक इन्जिनियर शिवाङ दत्त, सन्ध्या बज्राचार्य र जिवेश गुरुङलगायत स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी तथा नागरिक समाजका अगुवाहरू सहभागी थिए।

यसैगरी सप्तरीको श्री जागेश्वर गहिराई जनता माध्यमिक विद्यालय, सेहरामा आयोजित कार्यक्रममा डा. विजयकुमार दत्त प्रमुख अतिथि तथा चिनियाँ दूतावासका राजनीतिक विभाग प्रमुख यु पेङचेंग विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

उक्त विद्यालयलाई ११० थान डेस्क–बेन्च, ह्वाइटबोर्ड, कापी तथा अन्य शैक्षिक सामग्री र वासिङ मेसिन प्रदान गरिएको थियो। कार्यक्रमको समन्वय गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव तथा पूर्वप्रधानाध्यापक दिनेश्वरप्रसाद यादवले गरेका थिए।

त्यसैगरी सप्तरीको गाउँपालिका–४ स्थित बेल्ही वडा कार्यालयमा स्वच्छ खानेपानीका लागि प्रशोधन प्लान्ट स्थापना गरिएको छ। गाउँपालिकाका छवटै वडामा रहेका प्रसूति सेवा केन्द्रलाई दुई–दुई थानका दरले कुल १२ थान एयर कन्डिसनर (एसी) उपलब्ध गराई जडानसमेत गरिएको छ।

चिनियाँ दूतावासको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार, छात्राहरूको शिक्षामा पहुँच विस्तार, गर्भवती तथा सुत्केरी महिलालाई सहज स्वास्थ्य सेवा र स्थानीय समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शिक्षा, स्वास्थ्य र सामुदायिक विकासलाई प्राथमिकता दिएर सञ्चालन गरिएका यी कार्यक्रमले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र जनस्तरको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।