चीनसँगको टिप्ताला नाका बन्द भएसँगै यांमावासी आर्थिक संकटमा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ यांमाका नागरिक आर्थिक संकटमा परेका छन्। कोभिड– १९ महामारीका कारण पछिल्लो तीन वर्षयता चीनसँगको टिप्ताला नाका बन्द भएसँगै यांमावासी आर्थिक संकटमा परेका हुन्।

यांमावासीले चौँरी र याक तथा सोबाट उत्पादित पदार्थहरू चिनियाँ बजारमा बेच्दै आएका थिए। तर, कोभिडपछि बन्द नाका हालसम्म नखोल्दा उनीहरूको उत्पादन बिक्री हुन सकेको छैन।

फक्ताङलुङ– ७ यांमाका कान्देग्याबु शेर्पाको परिवारको दिनचर्या याकगोठमा बित्छ। पुस्तौँदेखि याकपालन गरी त्यसैबाट जीवन निर्वाह गर्दै आएको यो परिवार अहिले चीनसँगको नाका बन्द रहँदा समस्यामा परेको छ। यांमावासी सबैको मुख्य पेसा याकपालन हो। यांमाको याक चीनका विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको थियो। तर, कोभिडपछि पछिल्लो तीन वर्ष नाका बन्द हुँदा याक बिक्री गरेर आयआर्जन गर्न नपाइएको स्थानीयको गुनासो छ।

यांमाका लोप्साङ शेर्पाकाे परिवार पनि याक गोठमा नै बस्छ। कोभिडअघि वार्षिक १२ देखि १५ वटासम्म याक चीनमा बिक्री गर्दै आएका शेर्पाले पछिल्लो तीन वर्षदेखि याक बिक्री ठप्प हुँदा लाखौँ गुमाइरहेका छन्। एउटा याक एक लाख ५० हजारसम्ममा चीन निर्यात हुने गरेको छ। याक गोठबाटै राम्रो आम्दानी लिँदै आए पनि अहिले कोभिडका कारण नाका बन्द भएपछि स्थानीयले आर्थिक संकट व्यहोर्दै आएका छन्। समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा पर्ने यस हिमाली क्षेत्रमा खेतीपाती हुँदैन।

याकको घ्यू र छुर्पी प्रतिकिलो एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ। पशुजन्य उत्पादनबाट यांमावासीले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका छन्। कोभिड– १९ का कारण चीनको टिप्ताला नाका तीन वर्षदेखि बन्द भएसँगै यांमाका समुदायमा आर्थिक संकट लाग्न थालेको स्थानीयको भनाइ छ ।

वितगमा याक बिक्री गरेर वर्षभरि पुग्ने आवश्यक खाद्यान्न चीनबाट आयात गरिँदै आएको थियो । तीन वर्षयता ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारदेखि खरिद मूल्यभन्दा चार गुणा बढीमा ढुवानी गर्नुपरेको स्थानीयको भनाइ छ । कोभिडका कारण तीन वर्षदेखि टिप्ताला नाका बन्द हुँदा चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङगाेला र यांमा क्षेत्रका बासिन्दाले ठूलो क्षति व्यहाेर्दैआएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।