चिनियाँ नाकाबन्दीले आत्महत्या गर्दै नेपाली व्यापारी, पटकपटक आग्रह गर्दा पनि नेपाल सरकारलाई टेरेन

काठमाडौं । न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले भदौ ६ गते आत्महत्या गरे । अकालमै मृत्युको बाटो रोज्नुको कारण थियो, चीनको नाकाबन्दी ।

नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले पनि सुदर्शनले अपनाएकै बाटो पछ्याए । नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएर ऋण लागेपछि कुनै विकल्प नभएर ०७७ असोज २७ गते आत्महत्या गरेका थिए । लामो समयदेखि व्यापार व्यवसायमा संलग्न दुबै जना कोभिडका नाममा चीनले गरेको अघोषित नकाबन्दीको सिकार भए । सीमामै पुगिसकेका सामान चीनले छाडेन ।

कति सामान काम नलाग्ने भयो, कति बाटोमै अलपत्र पर्यो । यता ऋणदान गरेर सामान ल्याउन पठाएको पैसाको ब्याज बढ्दै गयो । व्यापार पनि संकटमा पर्यो । आर्थिक संकटबाट गुज्रिँदै टाट पल्टिए भने ऋणधनी बैक र साहुले साहुब्याज असुल्न ताकेता गर्न थाले । तिर्ने कुनै विकल्प बाँकी नरहेपछि मृत्यु रोजे । यसको कारण कोभिडका नाममा चीनले सीमामा सामान बोकेका कन्टेनर लामो समयसम्म रोक्नु ।

सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना नियन्त्रणमा आइसकेको छ । तर त्यसलाई देखाएर चीनले अहिलेसम्म नाकामा अवरोध गर्दा नेपालको व्यापार व्यवसाय नै चौपट भएको छ । नेपाल सरकारले पटक पटक नाका खोल्न पहल गरे पनि चीनले टेरेको छैन । खोल्न सहमति जनाएर पनि नयाँ नयाँ बहाना गरेर चीनले दुख दिएको छ । गत चैतमा तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले दुवै उत्तरी नाकाबाट आयात–निर्यात सहज हुने गरी छिट्टै प्रबन्ध मिलाइने आश्वासन दिएका थिए ।

तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । भदौमा चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि सीमा नाकाका सहज बनाउन चीनलाई अनुरोध गरेका थिए । सभामुख अग्नि सापकोटाले पनि चैतमा चिनियाँ सभामुख ली झान्सुलाई नाका खोलिदिन अनुरोध गरेका थिए । उनले पहल गर्ने आश्वासन दिए । अहिले आफै नेपाल भ्रमणमा आउँदा समेत नाका सहज भएको छैन ।

दशैं, तिहारजस्ता ठूला चाडपर्वका बेला चीनबाट आयात हुने सामान नेपाल भित्रिन सक्ने गरी तातोपानी र रसुवागढी नाका लगायतका नेपाल–चीन सीमानाका नाका तत्काल खोल्न सहजीकरण गर्न उनलाई नेपाली नेताहरुले आग्रह गरेका छन् । लीले नाका खोल्न पहल गर्ने आश्वासन दोहोर्याए पनि कार्यान्वयन हुने विश्वास छैन ।

नेपाल–चीन सीमानाका नाका खोल्ने धेरै पटक चिनियाँ नेताहरुले आश्वासन दिए पनि कार्यान्वयन भएको छैन । नेपाली जनता र नेतालाई आश्वासन दिएर ढाट्ने काम मात्रै गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।