हिन्दू राष्ट्र स्थापनाको संकल्पसहित बद्रीनाथ, वसुन्धरा र भविष्य बद्रीमा विशेष पूजाअर्चना
हिन्दू राष्ट्र स्थापनाको संकल्पसहित बद्रीनाथ, वसुन्धरा र भविष्य बद्रीमा विशेष पूजाअर्चना

उत्तराखण्ड २८ कार्तिक
भारत र नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने संकल्पसहित भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल श्री बद्रीनाथ धाम, माणा गाउँमाथि अवस्थित वसुन्धरा धारा तथा भविष्य बद्रीमा विशेष पूजाअर्चना एवं धार्मिक चर्चा सम्पन्न भएको छ।
पूज्यपाद जगद्गुरु शंकराचार्य, गोवर्धन मठ पुरीका पीठाधीश्वर महाराजका कृपापात्र शिष्य ब्राह्मण भूषण डा. प्रेमचन्द्र झाले भारत र नेपाललाई हिन्दू राष्ट्र घोषणा गरियोस् भन्ने कामनासहित तीनवटै धार्मिक स्थलमा विधिपूर्वक पूजाअर्चना गर्नुभएको थियो।
पूजा अर्चनापछि आयोजित धार्मिक छलफलमा डा. झाले सनातन धर्म, संस्कृति, परम्परा तथा धार्मिक मान्यताहरूको संरक्षण र प्रवर्द्धनका विषयमा चर्चा गर्नुभयो। उहाँले सनातन धर्मको पहिचान, धार्मिक आस्था र सांस्कृतिक विरासतको रक्षाका लागि सम्पूर्ण सनातनीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले सनातन धर्मको संरक्षण तथा धार्मिक जागरणका लागि गोवर्धन मठ पुरीबाट सञ्चालन भइरहेको अभियानबारे जानकारी गराउँदै प्रत्येक सनातनीलाई आ–आफ्नो घर तथा मन्दिरमा सनातन धर्मको प्रतीक सनातन ध्वज स्थापना गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका क्रममा ‘हामी भारत भव्य बनाउनेछौँ, हामी हिन्दू राष्ट्र बनाउनेछौँ’ भन्ने जयघोष गरिएको थियो। उक्त नाराले बद्रीनाथ क्षेत्रको धार्मिक वातावरण गुञ्जायमान बनेको थियो।
उक्त धार्मिक तथा वैचारिक अभियानमा आचार्य इन्जिनियर शिरीष कोटियाल, सूरज जोशी, अभिषेक नेगी, सुलोचना अधिकारी, सूरज राय, इन्जिनियर सिंहलगायतको सक्रिय सहभागिता रहेको थियो।





