‘रुसी र चिनियाँ राष्ट्रपतिको अनुपस्थितिले केही फरक पर्दैन’

नयाँदिल्ली । शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन् ।
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन् ।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन् । उनले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्य भएको विचार व्यक्त गरे । उनले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए ।- (रासस /एएनआई)






