एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न : नागरिकता, लगानी र मतदान अधिकारलाई प्राथमिकता

एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न : नागरिकता, लगानी र मतदान अधिकारलाई प्राथमिकता

ग्वान्जाओ (चीन), १ भदौ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वान्जाओमा २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘आरोहण २०२६–राइजिङ टुगेदर, लिडिङ फरवार्ड’ भन्ने मूल नाराका साथ अगस्ट १४ देखि १६ सम्म आयोजित सम्मेलनले प्रवासमा रहेका नेपालीका नागरिकता, लगानी, मतदान अधिकार, श्रमिक सुरक्षा, दोस्रो पुस्ताको सहभागिता तथा ज्ञान र प्रविधि हस्तान्तरणलगायतका विषयलाई प्राथमिकतामा राखेको छ।

सम्मेलनले जारी गरेको ‘ग्वान्जाओ घोषणापत्र–२०२६’ मा गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, वंशजको नागरिकताको निरन्तरता तथा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।

सम्मेलनको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका विपक्षी दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका उपनेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर, नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, जगदिश खरेल, सोम शर्मा तथा खगेन्द्र सुनार, श्रम संस्कृति पार्टीका आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बू ओली तथा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए।

त्यस्तै, चीनका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनाल, ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला, हङकङस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत सतिष गुरुङ, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीलगायत कूटनीतिक अधिकारी, एनआरएनएका पदाधिकारी, सञ्चारकर्मी तथा पाँच सयभन्दा बढी प्रतिनिधिको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो।

नागरिकता कार्यान्वयनमा जोड

घोषणापत्रको पहिलो प्राथमिकतामा गैरआवासीय नेपाली नागरिकताको विषय राखिएको छ। संविधानको धारा १४ बमोजिम सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी प्रबन्ध तत्काल मिलाउन सम्मेलनले आग्रह गरेको छ।

साथै, संविधान संशोधनमार्फत वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न र गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधन गरी कार्यान्वयनमा ल्याउन माग गरिएको छ।

१० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड र डायस्पोरा बण्ड

विदेशमा रहेका नेपालीको लगानी नेपाल भित्र्याउने उद्देश्यले स्थापना भएको १० अर्ब रुपैयाँको ‘नेपाल एनआरएन डेभलपमेन्ट फण्ड’ मा गैरआवासीय नेपालीको सामूहिक लगानीका लागि ८५ प्रतिशतसम्म आईपीओ जारी गर्ने सरकारी निर्णयको सम्मेलनले स्वागत गरेको छ।

फण्ड सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डबाट निर्देशिका जारी भएपछि यथाशीघ्र आईपीओमा जानुपर्नेमा सम्मेलनले जोड दिएको छ।

त्यस्तै, पूर्वाधार विकास तथा निर्यातमूलक उद्योगमा लगानी आकर्षित गर्न वार्षिक एक अर्ब रुपैयाँको ‘डायस्पोरा बण्ड’ जारी गर्ने प्रस्तावलाई स्वागत गर्दै नेपालीहरूको उल्लेख्य बसोबास रहेका मुलुकसँग दोहोरो कर प्रणाली अन्त्य गर्न द्विपक्षीय सम्झौता गर्न सरकारलाई आग्रह गरिएको छ।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयलाई पनि घोषणापत्रमा प्रमुखताका साथ उठाइएको छ। सर्वोच्च अदालतले २०७४ सालमा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्न दिएको निर्देशनात्मक आदेश कार्यान्वयन हुन नसकेकोमा सम्मेलनले चिन्ता व्यक्त गरेको छ।

आवश्यक ऐन तथा कानुन निर्माण गरी अनलाइनमार्फत मतदाता नामावली दर्ता प्रक्रिया तत्काल सुरु गर्न र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

पीएनओ परिचयपत्रदेखि श्रमिक अस्पतालसम्म

म्यानमार, मलेसिया, फिजी, थाइल्याण्ड, कम्बोडियालगायत मुलुकमा पुस्तौँदेखि बसोबास गर्दै आएका पाँच लाखभन्दा बढी नेपाली मूलका व्यक्तिलाई ‘पिपल्स अफ नेपाली ओरिजिन’ (पीएनओ) परिचयपत्र उपलब्ध गराउन आवश्यक कानुनी व्यवस्था गर्न पनि सम्मेलनले माग गरेको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षा र कल्याणका लागि विभिन्न मुलुकमा ‘श्रमिक सेल्टर’ स्थापना गर्ने, वैदेशिक रोजगार राहत कोषलाई प्रभावकारी बनाउने तथा नेपालमा वैदेशिक श्रमिकका लागि समर्पित ‘श्रमिक अस्पताल’ स्थापना गर्ने प्रस्ताव घोषणापत्रमा समेटिएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई सीपमूलक तालिम उपलब्ध गराउने र रोजगारीबाट फर्किएका नेपालीलाई पुनःस्थापना गर्न रणनीतिक योजना बनाउने निर्णय गरिएको छ।

दोस्रो पुस्ता, महिला र युवा सहभागितामा जोड

विदेशमा जन्मिएर हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमि, भाषा, लिपि, संस्कृति र संस्कारसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ। आगामी जनवरीमा पहिलो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन आयोजना गर्ने र संघका निर्णय प्रक्रियामा युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

विदेशमा रहेका नेपाली महिलाको नेतृत्व, उद्यमशीलता, आर्थिक सहभागिता र संस्थागत प्रतिनिधित्व बढाउने विषयलाई पनि घोषणापत्रले प्राथमिकता दिएको छ।

ज्ञान, प्रविधि र एआईमा सहकार्य

विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्न ‘इन्टरप्राइज म्यापिङ’ गर्ने निर्णय गरिएको छ।

डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा नेपाली डायस्पोराबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि सम्मेलनले जनाएको छ। आगामी जनवरीमा चौथो विश्व ज्ञान सम्मेलन आयोजना गर्ने निर्णयसमेत गरिएको छ।

एनआरएनए रोडम्याप २०३० कार्यान्वयन

काठमाडौँमा सम्पन्न रणनीतिक कार्यशालाबाट तयार ‘NRNA Roadmap to 2030’ कार्यान्वयन गर्ने तथा संघको रिब्रान्डिङ योजनालाई अघि बढाउने प्रतिबद्धता सम्मेलनले व्यक्त गरेको छ।

एनआरएनएको निर्वाचन प्रणालीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन सम्पूर्ण पञ्जीकृत सदस्यले अनलाइनमार्फत आईसीसी नेतृत्व चयन गर्न सक्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न पनि आग्रह गरिएको छ।

यसैगरी, नेपालीहरू रहेका मुलुकका नेपाली दूतावासको सेवा विस्तार तथा डिजिटल प्रणाली विकासमा पहल गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि प्रत्येक देशका एनआरएनएले फोकल पर्सन तोक्ने तथा लाओस, भियतनाम र इस्ट टिमोरमा नयाँ राष्ट्रिय समन्वय परिषद् गठनका लागि पहल गर्ने निर्णय गरिएको छ।

१२औँ सम्मेलन लाओसमा

घोषणापत्रमा समेटिएका विषयलाई प्रतिबद्धतामा मात्र सीमित नराखी सम्बन्धित सरकार, निकाय, एनआरएनए तथा सरोकारवालाबीच समन्वय गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। घोषणापत्रको प्रगतिको नियमित समीक्षा गरी आगामी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्ने निर्णयसमेत गरिएको छ।

सम्मेलनले आगामी १२औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन लाओसमा आयोजना गर्ने घोषणा गरेको छ।

तीन दिनसम्म चलेको सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा एनआरएनए आईसीसीले आयोजक राष्ट्रिय समन्वय परिषद् चीन, एनआरएनए एसिया प्यासिफिक क्षेत्र, आयोजक समिति, पदाधिकारी, सहभागी, प्रायोजक, स्वयंसेवक तथा सञ्चारकर्मीलगायत सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।