संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चौरसिया
संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चौरसिया

काठमाण्डौ ०१ साउन
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताउनुभएको छ ।
मंगलवार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री चौरसियाले सत्तारुढ नेपाली काँग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमती भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरुको दायित्व भएको बताउनु भयो । उहाँले विगत ८-१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताउनु भयो । संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाई थियो ।
उहाँले भन्नुभयो,‘संविधानमा भएका कमीकमजोरीहरु, ८-१० वर्षमा संविधानमा देखिएका खाडलहरु पुर्ने काम हाम्रो जिम्मेवारी हो । त्यो समावेशी चरित्र अनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमती पनि भएको छ–संविधानमा जहाँजहाँ समस्या भएको छ । त्यो खाडलहरुलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौं । यहाँहरुको कुनै अपठ्यारो भए त्यो फुकाउने काम कानूनीमन्त्रीको नाताले मैले गर्छु । हाम्रो सदा सहयोग रहन्छ न्यायपालिकालाई । ’
मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अपm्ठ्यारा हटाउनका लागि कानूनीमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले न्यायालयलाई आफूले सदैव सहयोग गर्ने पनि बताउनु भयो ।





