सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसमेत पाँच जना उपर विशेष अदालतमा आरोपपत्र दायर

सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसमेत पाँच जना उपर विशेष अदालतमा आरोपपत्र दायर

कलैया २६ चैत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै पाँच जना उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद प्रसाद वर्णवाल शिक्षा अधिकृत विजय अधिकारी,जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ,सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र मंगलबार दायर गरिएको अख्तियारले जनाएको छ। संभार: साझेदारी दैनिक

कलैया उपमहानगरपालिकाको कार्यालयले आ.व. २०७७/०७८ र २०७८/०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजूरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।

कलैया उपमहानगरपालिका,बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल,शिक्षा अधिकृत विजय अधिकारी,जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफले सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहसँगको मिलोमतोमा आर्थिक वर्ष २०७७।०७८ मा सेनिटरी प्याड खरिद गरिएको अख्तियारको आरोपपत्रमा लेखिएको छ।

सेनेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी/नगराई मिति २०७७।०८।१९ गतेको टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वभाविक मूल्य प्रति प्याकेट रु.७९.१ कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको आरोप समेत उनीहरु उपर रहेको छ।

राष्ट्रसेवकसँगको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरुको बोलपत्र पेश गरी/गराई प्रति प्याकेट सेनिटरी प्याडको मूल्य रु.७८ कायम गरी ठेक्का दिएको समेत आरोपपत्रमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेट रु.२४ मा खरिद गरेको देखिएको थियो। पछिल्लो बर्ष भन्दा अघिल्लो बर्ष प्रति प्याकेटमा रु.५४ दरले ९६,२८० प्याकेटको जम्मा रु.५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरेको खुलेको छ।

प्रतिवादीहरु प्रहलाद प्रसाद वर्णवाल,विजय अधिकारी,राजेश ठाकुर हजाम र दिव्या सर्राफको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिमको कसुर गरेको दावी अख्तियारको रहेको छ।

उनीहरुलाई बिगो रु.एकाउन्न लाख उनान्सय हजार एक सय बीस रुपैंया कायम गरिएको छ। सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन माग दाबी अख्तियारले गरेको छ।

सागर देवी फर्मा,हेटौडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहले राष्ट्रसेवकसँगको मिलोमतोमा आ.व.२०७७/०७८ को लागि सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेटमा रु.५४ को दरले ९६,२८० प्याकेटको जम्मा रु.एकाउन्न लाख उनान्सय हजार एक सय बीस रुपैंया बढी भुक्तानी लिएको देखिएकोले प्रतिवादीहरु सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाह उपर समेत आरोपपत्र दायर गरिएको छ।

शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क),(ङ) र (ञ) बमोजिमको कसुरको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुरमा बिगो रु.एकाउन्न लाख उनान्सय हजार एक सय बीस रुपैंया कायम गरिएको छ।

मुख्य कसूरदारहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी विगो असुल उपर हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी समेत अख्तियारले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।