मधेशका पूर्वमन्त्री, बागमती नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा   

मधेशका पूर्वमन्त्री, बागमती नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा   

काठमाण्डाै ४ जेष्ठ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री यादवसहित बागमती नगरपालिकाका मेयर भरत थापा, तत्कालीन उपमेयर लीलाकुमारी मुक्तान, बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै मधेश प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन कानून अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका तत्कालीन इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल तथा तत्कालीन लेखा अधिकृत विश्वराज पोख्रेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानि/नोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानूनी रूपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ ।

सङ्घीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानूनी रूपमा पोखरीसमेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानि/नोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ । ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानि/नोक्सानी र दुरुपयोग गरे/गराएको ठहर गर्दै त्यहीबमोजिमको सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । संभार: उज्यालो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।