यातायातका अधिकृत अविनाश माथि कारवाही प्रक्रिया अगाडि नबढदा सेवाग्रहीहरु आश्चर्यमा

अजय चौरसिया /
वीरगंज ६ साउन । यस अनलाईनमा साउन ४ गते “वीरगंज यातायातका अधिकृत अविनाश गुप्ताको घुस लिने नौलो तरिका “हा” “बा”” शिर्षकमा समाचार प्रकाशन हुँदा सो समाचारमा अधिकृत गुप्ताले नियम बिपरित कार्य गरेको स्वीकार गरेर प्रतिक्रिया दिए पनि उनी माथि हालसम्म जिल्ला प्रशासन कार्यालय पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सेवाग्रहीहरु आश्चर्यमा परेका छन् ।
मोटरसाईकल फाँटमा रहेका छैठौं तहका कम्प्यूटर अधिकृत गुप्ताले गाडी धनिको उपस्थित बिना प्रतिलिपी दिएको र ब्लुबुकमा मात्र सनाखत नामसारी भएको गाडीलाई ढांडामा चढाएको स्वीकार गरेका थिए ।
मोटरसाईकल शो–रुमका प्रतिनिधिहरु सँग मिलोमतो गरी खरिदकर्ता व्यक्तिहरुको उपस्थित बिना नै नयाँ दर्ता प्रक्रियामा मोटो रकम कमाई रहेका अधिकृत गुप्ताले २०७६ साल देखि वीरगंज यातायातमा कार्यरत्त रही रजगज गरिरहेका सेवाग्रहीहरुको गुनासो रहेको छ । गत साल सर्लाही जिल्लाको मलंगवा यातायातमा गुप्ताको सरुवा भए पनि उनी मन्त्रालयलाई रिझाई २०८१ असोजमा काज सरुवा गराई पुनः वीरगंजमा आउन सफल भएका व्यक्ति हुन् ।
गुप्ताको काजको अवधि सकेपनि मासिक रुपमा मन्त्रालयलाई रिझाउदै वीरगंजमा सेवाग्रहीहरुलाई दुहुनो गाई बनाई मोटरसाईकल फाँटलाई बदनाम गराउदै आएका छन् ।
भ्रष्टाचार गर्नमा माहिर मानिएका रौतहट जिल्ला निवासी गुप्ताले मोटरसाईकल फाँटमा दर्ता, नामसारी, नविकरण लगायतका कामहरुमा सेवाग्रहीहरु सँग निश्चित रकम बिचौलियाहरु मार्फत नलिई काम गर्ने नगरेको भुक्तभोगीहरु बताउदंछन् ।
भ्रष्ट प्रवृतिका गुप्ताका कारण मोटरसाईकल फाँट घुसको कारण गन्हाई रहंदा कार्यालय प्रमुख कुशेश्वर साहको मौनताले सो फाँटमा भ्रष्टाचारजन्य कार्यहरु “दिन दुगुना रात चौगुना” बढी रहेका सेवाग्रहीहरुको आरोप रहेको छ ।
करिब ५ वर्ष देखि वीरगंज यातायात कार्यालयमा रजाई गरिरहेका अधिकृत गुप्ताले दैनिक २० हजार देखि ५० हजार सम्म बिचौलियाहरु मार्फत असुली गरिरहेको जानकारहरु बताउदंछन् ।
गुप्ताको असुलीका कारण हैरान बनेका सेवाग्रहीहरु बाध्यात्मक स्थितिमा घुस दिदै आफ्नो काम गराएर निराश हुदै फर्किने गरेको बताईन्छ ।
गुप्ता कम्प्यूटर अधिकृत भए पनि उनलाई सो कामको जिम्मा दिनु पर्नेमा प्रमुख कुशेश्वर साहले करारमा नियुक्ती नभएका व्यक्ति (बिचौलिया)हरुलाई कम्प्यूटरको जिम्मा दिई कार्य गराई रहेकोमा अन्य कर्मचारीहरु असन्तुष्ट रहेको बताईन्छ ।
वीरगंजको बसाईमा अधिकृत गुप्ताले करोडौं करोड कमाई आफ्ना आफन्तजनहरुको नाममा अकुत सम्पत्ति जोडे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा गुप्तालाई थप भ्रष्टाचारजन्य कार्यहरु गर्न बल पुग्ने गरेको सेवाग्रहीहरुको गुनासो रहेको छ ।




