यातायातका अधिकृत अविनाशलाई कारवाही स्वरुप मन्त्रालयद्धारा काज फिर्ता, मोटरसाईकल शो–रुमहरुमा पुगी बाँकी बक्यौता उठाउदै

अजय चौरसिया /
वीरगंज १३ साउन । यस अनलाईनमा साउन ४ गते “वीरगंज यातायातका अधिकृत अविनाश गुप्ताको घुस लिने नौलो तरिका “हा” “बा”” र साउन ६ गते “यातायातका अधिकृत अविनाश माथि कारवाही प्रक्रिया अगाडि नबढदा सेवाग्रहीहरु आश्चर्यमा” शिर्षकको समाचार प्रकाशन हुँदा काजमा रहेका अधिकृत अविनाश गुप्तालाई श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश जनकपुरधामले कारवाही स्वरुप मन्त्रालयमा काज फिर्ता गरेको छ ।
वीरगंज यातायातको मोटरसाईकल फाँटमा बसेर सेवाग्रहीहरुलाई दुहुनो गाई बनाई मौजमस्ती गरिराखेका अधिकृत गुप्ताले गाडीधनिको अनुपस्थितमा पनि ब्लुबुक प्रतिलिपी दिएको प्रमाण यस अनलाईन सँग सुरक्षित रहेको छ ।
भ्रष्टाचारको मामिलामा माहिर मानिएका अधिकृत गुप्तालाई मन्त्रालयमा काज मात्र फिर्ता गरेर हुँदैन, उनले अधिकार दुरुपयोग गरी सवारी दर्ता, ब्लुबुक प्रतिलिपीमा लाखौं लाख भ्रष्टाचार गरेको हुनाले ऐन नियम अनुसार छानबिन गरी थप कारवाही अगाडि बढाउन नियमनकारी निकाय सँग सेवाग्रहीहरुको माग रहेको छ ।
मोटरसाईकल फाँटमा कार्यरत्त रहेका छैठौं तहका कम्प्यूटर अधिकृत गुप्ताले गाडी धनीको उपस्थित बिना प्रतिलिपी दिएको र ब्लुबुकमा मात्र सनाखत नामसारी भएको गाडीलाई ढांडामा चढाएको यस अनलाईन सँग स्वीकार गरेको अडियो रेकर्ड सुरक्षित छ ।
मोटरसाईकल शो–रुमका प्रतिनिधिहरु सँग मिलोमतो गरी खरिदकर्ता व्यक्तिहरुको उपस्थित बिना नै नामसारी गरेको र नयाँ दर्ता प्रक्रियामा मोटो रकम कमाई रहेका अधिकृत गुप्ताले २०७६ साल देखि वीरगंज यातायातमा कार्यरत्त रही रजगज गरिरहेका सेवाग्रहीहरुको गुनासो रहेको छ ।
गत साल सर्लाही जिल्लाको मलंगवा यातायातमा गुप्ताको सरुवा भए पनि उनी मन्त्रालयलाई रिझाई २०८१ असोजमा काज सरुवा गराई पुनः वीरगंजमा आउन सफल भएका थिए । यस अनलाईनको समाचारको प्रभावमा काज फिर्ता गरेका मन्त्रालयलाई सेवाग्रहीहरुले प्रशंसा गरेका छन् ।
तर मंगलबार रवाना बुझेका अधिकृत गुप्ताले साँझ तिर आफ्ना निकटवर्तीहरु सँग केही दिनको लागि मन्त्रालय जान्छु र मन्त्रालयलाई रिझाएर पुनः छिटै वीरगंज काजमा नै आउने ठोकुवा गर्दै हिडेको उनको भनाईलाई उद्धृत गर्दै समाचार स्रोतले जनाएको छ ।
मोटरसाईकल शो–रुमहरुको नयाँ सवारी दर्ता गर्दै आएका भ्रष्ट प्रवृतिका अधिकृत गुप्ताले शो–रुमहरुमा बाँकी रहेको केही घुसका रकमहरु असुल्ने क्रम जारी राखेको ती स्रोतको भनाई रहेको छ ।
करिब ५ वर्ष देखि वीरगंज यातायात कार्यालयमा रजाई गर्दै आएका अधिकृत गुप्ताले करोडौं करोड कमाई आफ्ना आफ्न्तजनहरुको नाममा अकुत सम्पत्ति जोडन सफल भएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन ढिलो गरिरहेकोमा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।






