जय मातृभूमि पार्टीले प्रधानमन्त्रीलाई बझाए ६ बुन्दे ज्ञापन पत्र

जय मातृभूमि पार्टीले प्रधानमन्त्रीलाई बझाए ६ बुन्दे ज्ञापन पत्र

काठमाडौं २५ मंसिर

जय मातृभूमि पार्टीले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे प्रधानमन्त्री शुशिला कार्कीसँग भेटवार्ता गर्दै निर्वाचन तथा सुशासन सम्बन्धी ६ बुँदे माग प्रस्तुत गरेको छ। सह–अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेको प्रतिनिधिमण्डलले नवयुवाहरुको विद्रोहबाट बनेको वर्तमान सरकारले आन्दोलनको मर्मअनुसार काम गर्नुपर्ने अवस्थामा यसको अवहेलना नगर्न अनुरोध गर्दै ध्यानाकर्षण गराएको हो। पार्टीका महासचिव गोविन्द गिरीद्वारा वाचन गरी प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा पञ्चायत देखि गणतन्त्रसम्मका शासन व्यवस्थाले शासक वर्गको सुविधा मात्र प्रमुख बनाएको, नागरिकप्रतिको राज्यको उदासीनताका कारण देश आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र न्यायिक क्षेत्रमा कमजोर हुँदै पराधीन जस्तो अवस्थामा पुगेको आरोप लगाइएको छ। ज्ञापनपत्रले यिनै समस्याबाट सिर्जित परिस्थितिको समाधान र युवाहरूको रोजगार, आशा–भरोसा तथा सुव्यवस्था पुनर्स्थापना गर्ने अभियानमा वर्तमान सरकारको भूमिकालाई निर्णायक हुने अपेक्षा व्यक्त गरेको छ।

पार्टीले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका ६ बुँदे मागमा जेन–जी आन्दोलनले उठाएका मागहरुको अविलम्ब कार्यान्वयन, सुशासन स्थापना, हत्यारा तथा भ्रष्टाचारिमा कारबाही, भदौ २३ को आन्दोलनमा भएका हत्या र भदौ २४ का तोडफोड तथा आगजनी घटनाको निष्पक्ष छानबिन, दशौं वर्षदेखि जारी रहेका भ्रष्टाचारका घटनामा छिटो मुद्दा चलाउँदै अकूत सम्पत्तिको अनुसन्धान सुरु गर्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमति पत्र, जग्गा दर्ता जस्ता सेवा एकद्वार प्रणालीबाट छिटो र सहज रूपमा उपलब्ध गराउने, हाल खारेज भइसकेको दाबी गरिएको संविधान २०७२ को स्थानमा गोलमेच सम्मेलनमार्फत अन्तरिम संविधान निर्माण गर्ने तथा सोही संविधान बनेपछि मात्र आम निर्वाचन गराउने मागहरू समावेश रहेका छन्। पार्टीले आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका मर्म र आदेशलाई बेवास्ता गरी केवल निर्वाचनलाई लक्ष्य बनाउनु उपयुक्त नहुने चेतावनी पनि दिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री शुशिला कार्कीले जय मातृभूमि पार्टीलाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्दै पार्टीभित्रका अनुभवी र विज्ञ व्यक्तिहरूको टोलीले मुलुकलाई सघाउने विश्वास व्यक्त गरेकी छन्। उनले पार्टीले सुशासन मात्र होइन, उत्पादन वृद्धि र स्वरोजगारका क्षेत्रमा पनि गरेका पहलको प्रशंसा गर्दै धन्यवाद प्रकट गरेकी छन्। सह–अध्यक्ष रामशरण पाण्डे, वरिष्ठ नेता के.वि. लिम्बु, वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी र महासचिव गोविन्द गिरीको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष (पूर्व डीआईजी) उत्तम कुमार कार्की, सचिव तथा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल, सचिव तोप गुरुङ, केन्द्रीय सदस्य गौरव जोशीलगायत नेताहरू सहभागी थिए।

आमा (काखमा बच्चा बोकेको आमा) चुनाव चिह्न रहेको जय मातृभूमि पार्टीमा पूर्व सुरक्षाकर्मी, पूर्व कर्मचारी, विभिन्न क्षेत्रका विज्ञ, सुशासन र नेपालवादका अभियन्ता तथा ठूलो संख्यामा युवा समूहको सक्रिय सहभागिता रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।