युवाको भरोसा जित्दै घरदैलो अभियानमा पर्सा–२ का रास्वपा उम्मेदवार सुशील कानु
युवाको भरोसा जित्दै घरदैलो अभियानमा पर्सा–२ का रास्वपा उम्मेदवार सुशील कानु

वीरगन्ज, १३ माघ
पर्सा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका वडा नम्बर ३ पद्मौलमा मंगलबार घरदैलो अभियान सञ्चालन गरेका छन्।
रास्वपाका नेता, कार्यकर्ता र समर्थक सहित पदमौल पुगेका कानुले मतदाताको घरघरमा पुगेर प्रत्यक्ष भेटघाट गर्दै यसपटकको निर्वाचनमा रास्वपा लाई मत दिन आग्रह गरे। घरदैलोका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षा ध्यानपूर्वक सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।
कानुले आफू परम्परागत नेता नभई सेवकको भूमिकामा जनताको माझ आएको उल्लेख गर्दै पर्सा–२ का नागरिकको हरेक दुःख–सुखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे। विशेषगरी रोजगारी, शिक्षा, सुशासन र भ्रष्टाचारविरुद्धको एजेन्डामा युवाहरूको बढ्दो चासो रहेको उल्लेख गर्दै उनले युवाको शक्ति नै देश परिवर्तनको आधार भएको बताए।
युवासँग संवाद गर्दै कानुले भने, “अब पुरानो राजनीति होइन, परिणाम देखिने नयाँ राजनीति चाहिन्छ। रास्वपाले जिते नेपालमा पहिलो पटक मधेसी समुदायको छोरो प्रधानमन्त्री बन्ने बाटो खुल्छ।” उनले मधेसी जनताले यो ऐतिहासिक अवसर नछुटाउन आग्रह गरे।
घरदैलो कार्यक्रममा नगर अध्यक्ष चन्दन यादवले सहभागी युवाहरूले परिवर्तन, पारदर्शिता र अवसरको खोजीमा नयाँ शक्ति प्रति आकर्षण बढेको प्रतिक्रिया दिएका थिए।
स्थानीय युवाहरूले रोजगारीको अभाव, विदेश पलायन र राजनीतिक बेवास्ताका कारण निराशा बढेको भन्दै सुशील कानु जस्ता नयाँ अनुहारबाट आशा पलाएको बताए।






