पुरानै राजनीतिप्रति प्रश्न, वैकल्पिक नेतृत्वको खोजी
पुरानै राजनीतिप्रति प्रश्न, वैकल्पिक नेतृत्वको खोजी

वीरगञ्ज १६ पर्सा
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा चर्किंदै गएको छ। लामो समयदेखि सत्तामा रहेका दलप्रति बढ्दो असन्तुष्टिका बीच वैकल्पिक राजनीतिका पक्षधर का रूपमा पिपुल फर्ष्ट पार्टीका उम्मेदवार जाबेद एकबाल हैदर ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
उम्मेदवार हैदरले आज वीरगञ्ज महानगरपालिका अन्तर्गत वडा नं. १८ र २१ मा घरदैलो कार्यक्रम गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। भेटघाटका क्रममा उनले मुलुकको राजनीतिमा पुराना अभ्यास र अनुहारबाट अब नतिजा नआएको भन्दै प्रणाली सुधारका लागि नयाँ सोच र इमानदार प्रतिनिधिको आवश्यकता औंल्याए।
घरदैलोमा सहभागी युवाहरूले रोजगारीको अभाव, शिक्षा र सीप विकासमा राज्यको कमजोर भूमिका तथा राजनीतिक पहुँचका आधारमा मात्र अवसर वितरण हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले नेता चुनावमा मात्रै देखिने संस्कृतिबाट मुक्ति चाहिएको प्रतिक्रिया दिएका छन्।
हैदरले युवाको आवाजलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउँदै स्थानीय रोजगारी सिर्जना, पारदर्शी शासन र जवाफदेही राजनीति पिपुल फर्ष्ट पार्टीको मूल एजेन्डा रहेको बताए। “परिवर्तन भाषणबाट होइन, निर्णय र कार्यान्वयनबाट देखिनुपर्छ,” उनले भने।पर्सा–१ मा पिपुल फर्ष्ट पार्टीले घरदैलो, साना संवाद कार्यक्रम र युवाकेन्द्रित छलफलमार्फत परम्परागत दलहरूको वर्चस्वलाई चुनौती दिने रणनीति अघि बढाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।






