भरोसा योग्य उम्मेदवार नभएको भन्दै रुपेश पाण्डेमाथि स्थानीयको प्रश्न
भरोसा योग्य उम्मेदवार नभएको भन्दै रुपेश पाण्डेमाथि स्थानीयको प्रश्न

वीरगञ्ज १८ माघ
नेकपा एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका रुपेश पाण्डे भरोसा गर्न योग्य उम्मेदवार नभएको भन्दै मतदाताहरूले प्रश्न उठाउन थालेका छन्।पोखरिया क्षेत्रका केही स्थानीय बासिन्दाहरूका अनुसार अन्य दलहरूले उम्मेदवार बनाएका व्यक्तिहरूमाथि भरोसा गर्न सकिए पनि पाण्डेमाथि विश्वास गर्न नसकिने अवस्था रहेको उनीहरूको भनाइ छ।
उनीहरूले पाण्डेको घर पर्सा–३ मा भए पनि लामो समयसम्म परिवारसहित घरबाहिर बस्दै आएको र जनताका सुख–दुःखका समयमा अनुपस्थित रहेको आरोप लगाएका छन्। अहिले उम्मेदवार बनेर जित्ने सपना देख्नु दिवा सपना जस्तै भएको उनीहरूको तर्क छ।
एमाले भित्रैका केही नेताहरूले पनि पाण्डेमाथि विश्वास गर्नु पार्टीका लागि जोखिमपूर्ण हुन सक्ने धारणा व्यक्त गरेका छन्। नाम नखुलाउने सर्तमा एक नेताले पार्टीको निर्देशनअनुसार आफूहरू चुनावी अभियानमा लागेको बताए। उनका अनुसार पाण्डेले टिकट पाउन विभिन्न दलसँग पहल गरेका थिए। कुनै दलबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका थिए।
टिकट वितरणको समयमा अध्यक्ष केपी शर्मा ओलीसँग टीका लगाएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी मिडिया प्रचार गरेको आरोप पनि पाण्डेमाथि लागेको छ। त्यसपछि आलोचना बढेपछि उनले आफ्नै सामाजिक सञ्जालमार्फत आफू एमालेमा प्रवेश गरेको हल्ला झुटो भएको बताएका थिए।
उनले निर्वर्तमान सांसद प्रभु हाजरामार्फत ओलीले भेट्न बोलाएको र आफूलाई बदनाम गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा लेखेको सामग्रीको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको बताइएको छ। उक्त पोस्ट पछि पाण्डेले हटाएका थिए।
यस प्रकारका गतिविधि गर्ने व्यक्तिमाथि विश्वास गर्न नसकिने ती नेताको भनाइ छ। आज मत लिएर जिते पनि भोलि मन्त्री पदको प्रस्ताव आएमा पार्टी छाड्न सक्ने आशंका एमालेका केही नेताहरूले व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार राजनीति सेवा गर्ने माध्यम भए पनि पाण्डेले समाजमा उल्लेखनीय सेवा नगरेको आरोप लगाइएको छ। अहिले देखिएको भीड चाँडै छिन्नभिन्न हुन सक्ने उनीहरूको दाबी छ। साथै, विगतमा आफ्नै परिवारप्रति देखाएको व्यवहारबारे पनि छिमेकीहरूले प्रश्न उठाउँदै आएका छन्। आफ्नो परिवारप्रति नै जिम्मेवार हुन नसक्ने व्यक्ति जनताप्रति कसरी जिम्मेवार हुन सक्छ भन्ने प्रश्न उठाइएको छ।
गाउँलेहरूका अनुसार आफूलाई समाजसेवी बताउने पाण्डेले हालसम्म कुनै धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रममा सहयोग नगरेको आरोप लगाइएको छ। साथै, उनी विगतमा कुनै निर्वाचनमा मतदान गर्न समेत नआएको भन्दै अहिले उम्मेदवार बनेपछि कसरी मतदान गर्ने भन्ने प्रश्न स्थानीयले उठाएका छन्। संभार: इमधेेश






