पर्सागढी–४ मा रिमा यादवको घरदैलो, ऐतिहासिक पहिचान जोगाउँदै पर्यटन र विकासको प्रतिबद्धता

पर्सागढी–४ मा रिमा यादवको घरदैलो, ऐतिहासिक पहिचान जोगाउँदै पर्यटन र विकासको प्रतिबद्धता

वीरगञ्ज २५ माघ

पर्सा क्षेत्र नं. २ की नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नं. ४ परसुरामपुरममा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। घरदैलो अभियानका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएकी थिइन्।

कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता र उत्साह देखिएको थियो। मतदातासँगको भेटघाटले आफ्नो चुनावी अभियानलाई थप ऊर्जा र बल मिलेको उम्मेदवार यादवले बताइन्। उनले जनताको सुझाव र आवश्यकता अनुसार विकासका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

उम्मेदवार यादवले पर्सागढीको ऐतिहासिक पहिचान संरक्षण गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पारिन्। साथै पूर्वाधार निर्माण, रोजगारी सिर्जना र क्षेत्रको समग्र सामाजिक–आर्थिक उन्नतिका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले व्यक्त गरेको माया, सद्भाव र समर्थनप्रति आभार प्रकट गर्दै उनले परिवर्तन र समृद्धिको यात्रामा आफ्नो अभियान निरन्तर अघि बढ्ने उद्घोष गरिन्। पर्सागढीको ऐतिहासिक महत्व उजागर गर्दै दीर्घकालीन विकासको स्पष्ट मार्गचित्रसहित अघि बढ्ने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।