स्वाभिमान र मधेस प्रदेशको सम्मानका लागि रुख चिन्हमा मतदान गर्न अनिल कुमार झाकाे अपिल

स्वाभिमान र मधेस प्रदेशको सम्मानका लागि रुख चिन्हमा मतदान गर्न अनिल कुमार झाकाे अपिल

प्रेमचन्द्र झा  /माघ २९ राैतहट

“आफ्नो स्वाभिमान र मधेस प्रदेशको सम्मानका लागि रुख चिन्हमा मतदान” भन्ने नारासहित रौतहट क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिलकुमार झाले मधेसी जनताले वर्षौंदेखि उठाउँदै आएका माग–मुद्दा सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पूर्व मन्त्रीसमेत रहनुभएका झाले आफ्नै संसदीय क्षेत्र अन्तर्गत माधवनारायण नगरपालिकाको मिठुअवामा पत्रकारहरूसँग कुरा गर्दै आसन्न निर्वाचनपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उम्मेदवार झाले नेपाली कांग्रेसले जनआन्दोलन र युवाहरूले उठाएका मुद्दालाई केन्द्रमा राख्दै पार्टीको केन्द्रीय संरचनादेखि देशभर नै अधिकांश युवालाई उम्मेदवार बनाएको बताउनुभयो। जनताले ती उम्मेदवारहरूप्रति अपार माया र विश्वासका साथ मत दिइरहेको उल्लेख गर्दै उहाँले सभापति थापाको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो।
रौतहट क्षेत्र नम्बर १ का समस्याबारे विस्तृत जानकारी दिँदै उहाँले सबैभन्दा ठूलो समस्या बर्सेनि बागमती र लालबकैया नदीमा आउने बाढी रहेको बताउनुभयो। जनताको अमूल्य मतबाट विजयी भएमा बाढी समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, सडक र नाला लगायतका पूर्वाधार विकासका काम स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी युद्धस्तरमा अघि बढाउने तथा जनतालाई वास्तविक विकासको अनुभूति गराउने अठोट लिएको पनि बताउनुभयो।
उक्त कार्यक्रममा पार्टीका मधेस प्रदेश प्रचार–प्रसार संयोजक नितेश कुमार गुप्ता, जिल्ला नेता श्रीराम यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।