नुतन सिंह यतिबेला राैतहटमा चर्चाको केन्द्रमा
नुतन सिंह यतिबेला राैतहटमा चर्चाको केन्द्रमा

प्रेमचन्द्र झा / रौतहट २९ माघ
यमुना माई गाउँपालिका वडा नं. ४ की नुतन सिंह यतिबेला जिल्लाभर चर्चाको केन्द्रमा रहेकी छन्। पहिलो पटक प्रतिनिधि सभा समानुपातिकतर्फ सांसद उम्मेदवार बनेकी सिंह छोटो समयमै जनताको मन जित्दै जिल्लाका घर–घर र टोल–टोलमा परिचित नाम बन्न सफल भएकी छन्।
जनमत पार्टीबाट उम्मेदवारी दिएकी सिंहलाई पार्टीभित्र प्रभावशाली महिला नेतृका रूपमा हेरिन थालेको छ। सामाजिक क्षेत्रमा सक्रियता, स्थानीय समस्याप्रति संवेदनशीलता र स्पष्ट धारणा प्रस्तुत गर्ने क्षमताका कारण उनी मतदातामाझ लोकप्रिय बन्दै गएकी छन्। विशेषगरी महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र युवालाई रोजगारीसँग जोड्ने विषयमा उनले उठाउँदै आएका आवाजले उनलाई फरक पहिचान दिलाएको छ।
स्थानीय बासिन्दाका अनुसार सिंहले विगत केही वर्षदेखि समुदायस्तरमा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। गाउँ–समाजमा हुने हरेक सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएकी उनले जनताको विश्वास जित्न सफल भएको स्थानीयको भनाइ छ।
राजनीतिमा नयाँ अनुहार भए पनि स्पष्ट सोच र दृढ अठोटका कारण सिंहलाई यसपटकको निर्वाचनमा आशालाग्दो उम्मेदवारका रूपमा हेरिएको छ। महिलाहरूको प्रतिनिधित्व अझै पनि कमजोर रहेको अवस्थामा उनको उम्मेदवारीलाई महिला नेतृत्व सशक्तीकरणको संकेतका रूपमा पनि विश्लेषण गरिएको छ।
जनमत पार्टीले मधेशका मुद्दा, पहिचान र अधिकारका सवाललाई प्रमुख एजेन्डा बनाउँदै आएको सन्दर्भमा सिंहले पनि सोही मुद्दालाई प्राथमिकतामा राखेकी छन्। “राजनीति सेवा हो, पद होइन,” भन्ने धारणा राख्दै उनले विकास, सुशासन र समान अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आगामी निर्वाचन परिणामले उनको राजनीतिक यात्रालाई कता मोड्ने हो भन्ने चासो बढेको छ। तर पहिलो पटक उम्मेदवार बनेरै जिल्लामा बलियो उपस्थिति जनाउन सफल हुनु नै उनको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। अहिले रौतहटमा नुतन सिंहको उम्मेदवारी चर्चा र अपेक्षाको विषय बनेको छ।






