पर्सा–३ मा चौधरी–पाण्डेय मुख्य प्रतिस्पर्धा, २३ दल र ९ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा
पर्सा–३ मा चौधरी–पाण्डेय मुख्य प्रतिस्पर्धा, २३ दल र ९ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा

वीरगंज १८ फागुन
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला रोचक प्रतिस्पर्धाका कारण राजनीतिक चर्चाको केन्द्रमा परेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राजकुमार गुप्ता विजयी भएका थिए। तर हाल उनी भ्रष्टाचार मुद्दामा कारागारमा रहेकाले यसपटक नेकपा (एमाले) ले उनलाई टिकट नदिएको हो।
गत निर्वाचनमा करिब डेढ सय मतको झिनो अन्तरले पराजित भएका सुरेन्द्रप्रसाद चौधरी पुनः २०८२ को निर्वाचनमा उम्मेदवार बनेका छन्। विगतमा जित र हार दुवै व्यहोरेका चौधरी यसपटक पनि बलियो दाबेदारका रूपमा हेरिएका छन्।
एमालेबाट यसपटक रूपेश पाण्डेय उम्मेदवार बनेका छन्। चुनावको मुखमा एमाले प्रवेश गरेका पाण्डेय यसअघि नेपाली काङ्ग्रेस पृष्ठभूमिका नेता हुन्। सुरुआतमा प्रदेशसभा सदस्य प्रमोद जयसवाललाई उम्मेदवार बनाइएको थियो। तर जयसवालले उम्मेदवारी नलिने निर्णय गरेपछि दुई दिनमै उनको नाम हटाएर पाण्डेयलाई अघि सारिएको थियो।
पछिल्लो समय व्यवसायमा सक्रिय पाण्डेयले एमालेबाट टिकट पाउन करिब छ महिनादेखि तयारी गरिरहेका थिए। गुप्ताको कारागार यात्रापछि उत्पन्न परिस्थितिले उनको उम्मेदवारीलाई सहज बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। अहिले पर्सा–३ मा चौधरी र पाण्डेयबीच सीधा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट रामाकान्त चौरसिया चुनावी मैदानमा छन्। निर्माण व्यवसायीसमेत रहेका चौरसिया पनि नेपाली काङ्ग्रेस पृष्ठभूमिका हुन्। उम्मेदवारी दर्ताको अघिल्लो रात मात्र उनलाई पार्टीले उम्मेदवार घोषणा गरेको थियो। देशव्यापी रूपमा ‘घण्टी’ चुनाव चिह्नको चर्चा चलिरहेका कारण उनी पनि प्रतिस्पर्धीको सूचीमा गनिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी बाट छोटेलाल यादव मैदानमा छन्। विगतदेखि निरन्तर चुनावमा भाग लिँदै आएका यादवले अहिलेसम्म जित हात पार्न सकेका छैनन्।
२०७९ सालको निर्वाचनमा नेपाल सुशासन पार्टी बाट तेस्रो स्थानमा रहेका राजकुमार यादव यसपटक जय मातृभूमि पार्टी बाट उम्मेदवार बनेका छन्।
यसैबीच जनमत पार्टी ले मालती कुशवाहा लाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी बाट नवीनकुमार सिंह र जनता समाजवादी पार्टी, नेपाल बाट नागेन्द्रप्रसाद यादव चुनावी मैदानमा छन्।
पर्सा–३ मा विभिन्न दलका २३ जना उम्मेदवार तथा नौ जना स्वतन्त्र उम्मेदवारसहित कुल ३२ जना प्रतिस्पर्धामा उत्रिएका छन्।
बहुदलीय र बहुकोणीय प्रतिस्पर्धाका कारण यस क्षेत्रको परिणाम कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ। राजनीतिक दलहरूको आन्तरिक समीकरण, विगतको मतान्तर र नयाँ समीकरणले यसपटकको चुनाव झन् रोचक बन्ने देखिएको छ।






