गादीमाई साझेदारी वनमा विवाद चर्कियो : अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ, उपभोक्ता द्वारा तालाबन्दी

गादीमाई साझेदारी वनमा विवाद चर्कियो : अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ, उपभोक्ता द्वारा तालाबन्दी

सेढवा, २४ फागुन
पर्साको जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरूम राउत गद्दीको राजीनामा माग गर्दै स्थानीय नागरिकहरूले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।
आइतबार दिउँसो करिब २ बजे जिराभवानी गाउँपालिका अन्तर्गत सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया, सुपौली लगायतका गाउँका स्थानीय बासिन्दाले वन कार्यालय घेराउ गर्दै गादीमाई साझेदारी वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीय नागरिकका अनुसार दाउरा, घाँस तथा घर लिपपोत गर्न माटो लिन जंगल जाँदा वा बस्तुभाउ लिएर गोठालो जाँदा समूहका अध्यक्ष गद्दी तथा कार्यालय सहयोगी सोयालाल साह रौनियार र अध्यक्षका भान्जा पर्ने समिन गद्दीले अभद्र व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको गुनासो गरेका छन्।
जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरू कार्यालय पुगेका बेला समूहका पदाधिकारीहरू फरार रहेको जनाइएको छ।
स्थिति नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया तथा शस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरबाट सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए।
कार्यपालिका सदस्य चौरसियाले डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमद र गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गद्दीबीच मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी भइरहेको आरोप लगाएका छन्।
उनका अनुसार फागुन १४ गते बिहीबार साँझ करिब ७ बजे अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिई प्रहरी चौकी हरैयामा बुझाइएको थियो। प्र–२–०३–००१ त ३८०० नम्बरको ट्याक्टरमा लोपोन्मुख जातका सतिसाल र सिसौका काठ रहेको अवस्थामा जिराभवानी गाउँपालिका वडा नम्बर ३ सहजानपुरबाट नियन्त्रणमा लिइएको बताइएको छ।
यस सम्बन्धमा बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीले जंगलमा छपान गरिएको काठ नै समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरूले अवैध रूपमा कटानी गरी बिक्री गरेको दाबी गरे। अध्यक्ष गद्दीमाथि कारबाही गर्न डिभिजन वन कार्यालय पर्सामा पटक–पटक पत्र पठाइए पनि सुनुवाइ नभएको अधिकृत अलीले बताए।
उता डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने वन सम्बन्धी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।