अविरल वर्षाका कारण रौतहट जिल्लामा अन्नबालीसँगै इट्टा उधाेगमा कराेडाैको क्षति
अविरल वर्षाका कारण रौतहट जिल्लामा अन्नबालीसँगै इट्टा उधाेगमा कराेडाैको क्षति

रौतहट ९ चैत्र / प्रेमचन्द्र झा
लगातार दुई दिनसम्म परेको अविरल वर्षाका कारण रौतहट जिल्लामा अन्नबालीसँगै काँचो इट्टामा ठूलो क्षति पुगेको छ।
जिल्लाका विभिन्न स्थानमा रहेका इट्टा उद्योगहरूमा उत्पादनका लागि तयार पारिएको काँचो इट्टा वर्षाले बगाउँदा करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको व्यवसायीहरूले बताएका छन्।
जिल्लामा सञ्चालित करिब ५७ वटा इट्टा उद्योग प्रभावित भएका छन्। ती उद्योगहरूमा उत्पादनको चरणमा रहेका काँचो इट्टा पूर्ण रूपमा नष्ट हुँदा उद्योगीहरू आर्थिक रूपमा गम्भीर मारमा परेका छन्।
इट्टा व्यवसायी मोहन साहका अनुसार, “दुई दिनको वर्षाले मात्रै करोडौँको क्षति भएको छ। धेरै उद्योगमा तयार पारिएका काँचो इट्टा कामै नलाग्ने अवस्थामा पुगेका छन्।”
यसैबीच, व्यवसायीहरूले स्थानीय तह तथा सरकारसँग इट्टा उद्योगका लागि बीमा (इन्सुरेन्स) व्यवस्था गर्न माग गरेका छन्। प्राकृतिक विपत्तिका कारण बारम्बार हुने यस्तो क्षतिबाट जोगिन बीमा अनिवार्य गरिनुपर्ने उनीहरूको भनाइ छ।
उद्योगीहरूले विशेषगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको नेतृत्वमा बन्ने भनिएको “बालेन सरकार” ले पनि यस विषयमा ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूले इट्टा उद्योगलाई औपचारिक रूपमा समेट्दै बीमा तथा राहतको व्यवस्था गर्न आग्रह गरेका छन्।
साथै, व्यवसायी मोहन साहले सरकारसँग सबै प्रभावित इट्टा उद्योगलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। “हामीले ठूलो लगानी गरेका छौँ, यस्तो अवस्थामा सरकारको साथ आवश्यक छ,” उनले भने।
स्थानीय प्रशासनले भने क्षतिको विवरण संकलन कार्य सुरु गरिएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार क्षति निकै ठूलो रहेको बताइएको छ।
प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको अवस्थामा इट्टा उद्योग जस्ता मौसमी व्यवसायलाई दीर्घकालीन सुरक्षा दिने नीति आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।






