अलपत्र रहेको पोखरीलाई पर्यटकीय स्थल बनाउने तयारी, स्थानीयहरु सक्रिय

अलपत्र रहेको पोखरीलाई पर्यटकीय स्थल बनाउने तयारी, स्थानीयहरु सक्रिय

बारा ९ चैत्र

जिल्लाको बिश्रापुर गाउँपालिका वडा नं. ५ अन्तर्गत ईटियाही सानो टोलमा रहेको करिब २५ कट्ठा क्षेत्रफलमा फैलिएको अलपत्र पोखरीलाई सौन्दर्यकरण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने पहल सुरु भएको छ।

सोही उद्देश्यले आज स्थानीयवासी तथा जनप्रतिनिधिहरूले पोखरीको स्थलगत निरीक्षण गर्नुका साथै जग्गा नापजाँच (नक्सा) गर्ने काम अगाडि बढाएका छन्। लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेको उक्त पोखरीलाई व्यवस्थित गरी आकर्षक पार्कका रूपमा विकास गर्ने योजना स्थानीय तहबाट अघि सारिएको हो।

स्थानीयका अनुसार पोखरीको विस्तृत नाप–नक्सा गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारिनेछ। त्यसपछि सम्बन्धित निकायलाई पहल गरी बजेट विनियोजन गराउने र सो स्थानलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ।

आजको निरीक्षण तथा नापजाँच कार्यमा वडा नं. ५ का वडा अध्यक्ष अमिरी लाल गुप्ता, पूर्व वडा अध्यक्ष भोला साह सोनार, समाजसेवी कृष्णा साह, गाउँपालिका अध्यक्षका प्रत्यासी सुमित यादव, स्थानीय राजेश्वर कुशवाहा, दिपेन्द्र सरार्फ, वडा अध्यक्ष प्रत्यासी सन्तोष सरार्फ, सञ्चारकर्मी राजकुमार सरार्फ बिनोद कुशवाहा लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय तह र समुदायको सहकार्यमा अगाडि बढाइएको यो पहल सफल भएमा उक्त क्षेत्रको सौन्दर्य वृद्धि हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।