राजविराजमा सरकार परिवर्तनपछि विकासले लियो गति, नगरबासीमा बढ्दो आशा

राजविराजमा सरकार परिवर्तनपछि विकासले लियो गति, नगरबासीमा बढ्दो आशा

रामनाथ राम /सप्तरी २८ चैत
राजविराज नगरपालिकामा सरकार परिवर्तनसँगै विकासीय गतिविधिहरूले नयाँ गति लिएको छ। विगतका वर्षहरूमा असार मसान्त नजिकिँदै जाँदा मात्र हतार–हतार गरिने कामहरूको प्रवृत्ति यसपटक भने परिवर्तन भएको देखिएको स्थानीयहरू बताउँछन्।
नगरबासीका अनुसार, अघिल्ला वर्षहरूमा बजेट सक्ने हतारोमा अन्तिम समयमा मात्र सडक, नाला, भवन निर्माणजस्ता कामहरू सुरु हुने गर्थे। जसका कारण गुणस्तरमा प्रश्न उठ्ने, पारदर्शिता कमजोर हुने र जनअपेक्षा पूरा नहुने अवस्था बारम्बार देखिँदै आएको थियो। तर २०८२ सालको संसदीय निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै स्थानीय तहहरू सक्रिय रूपमा विकास निर्माणमा जुटेको दृश्य देखिन थालेको छ।
स्थानीय एक नागरिक भन्छन्, “पहिले त असार लागेपछि मात्र काम सुरु हुन्थ्यो, अहिले त वर्षको सुरुदेखि नै काम भइरहेका छन्। यसले अब केही परिवर्तनको संकेत दिएको छ।” नगरका विभिन्न वडाहरूमा सडक स्तरोन्नति, ढल व्यवस्थापन, सार्वजनिक संरचना निर्माण तथा सरसफाइ अभियानहरू एकैसाथ अगाडि बढिरहेका छन्।
मधेश प्रदेशका अधिकांश पालिकाहरू विगतमा राजनीतिक खिचातानी, पक्ष–विपक्षको द्वन्द्व र कमिसनखोरीको आरोपले ग्रस्त रहेको आरोप लाग्दै आएको थियो। मधेश प्रदेश का कतिपय स्थानीय तहहरू भ्रष्टाचार र अनियमितताको केन्द्र जस्तै बनेको जनगुनासोसमेत व्यापक थियो। तर अहिलेको परिवेशमा ती अवस्थाहरूलाई चिर्दै पारदर्शिता र उत्तरदायित्वतर्फ उन्मुख हुने संकेतहरू देखिन थालेका छन्।
स्थानीय जनप्रतिनिधिहरूले पनि विकासलाई प्राथमिकतामा राख्दै योजनाहरू समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूका अनुसार, अब विकासलाई राजनीतिक रंग नदिई जनताको आवश्यकताअनुसार काम गरिनेछ।
यद्यपि, नागरिक समाजका अगुवाहरू भने सतर्क रहनुपर्ने बताउँछन्। उनीहरू भन्छन्, “सुरुवाती चरणमा देखिएको सक्रियता सकारात्मक हो, तर यसलाई दीगो बनाउन निरन्तर निगरानी र पारदर्शिता आवश्यक छ।”
राजविराजमा देखिएको यो नयाँ अभ्यासले मधेश प्रदेशकै अन्य पालिकाहरूलाई पनि सकारात्मक सन्देश दिएको छ। यदि यही गति कायम रह्यो भने, विगतका विकृति विसंगतिहरूलाई हटाउँदै विकास र सुशासनतर्फको यात्रा सम्भव हुने विश्वास नगरबासीहरूले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।