जैतापुरका असई यादवको असुली आंतक रोकिएन, नियमनकारी निकाय मौन !

वीरगंज १२ बैशाख । बारा जिल्लाको प्रहरी चौकी जैतापुरका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रासिन्द्र यादवको असुली आंतक अझै जारी रहेको स्थानियहरुले गुनासो गरेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले जनमुखी काम गर्न र अवैध कारोबारलाई शुन्यमा झार्ने नितिका साथ मातहतका सम्पूर्ण प्रहरी युनिटहरुलाई निर्देशन दिदै आए पनि सो निर्देशनलाई धज्जी उडाउदै असई यादवले आफ्नो असुली कार्यलाई निरन्तरता दिएको बताईएको छ ।
बाराको पिलुवा–बडहर्वा जंगलबाट अवैध रुपमा जंगल कटान गरी प्रत्येक दिन दर्जनौं साईकल मार्फत हुदै आएको काठ तस्करहरुबाट असई यादवले मासिक रुपमा लाखौं असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।
प्रहरी चौकी जैतापुरको ईन्चार्ज यादवकै संरक्षणमा कार्यालयकै केही मिटर दुरीमा अवैध रुपमा घरेलु मदिरा भठ्ठीहरु निर्वाध रुपमा सञ्चालन हुदै आएको छ । मदिरा भठ्ठीका सञ्चालकहरुले प्रत्येक महिना चौकीमै आई असई यादवलाई राम्रै नजराना बुझाउने गरेको स्थानियहरुले बताएका छन् । निर्वाध रुपमा घरेलु मदिरा उत्पादन र विक्री वितरण हुने हुँदा झै–झगडा र अपराधिक गतिविधि पनि बढन थालेको स्थानिय एक सचेत युवाले बताए ।
यति मात्र हैन, सो क्षेत्रमा सञ्चालित अवैध क्रसर उद्योगहरु सँग असई यादवले राम्रो दाम लिईराखेको स्रोतले जनाएको छ । केही क्रसर उद्योगहरु नियम संगत भएता पनि क्रसरहरुबाट गिट्टी, बालुवा गाडीहरुमा लोड गरी अन्यत्र लग्दा बाटोमा गिट्टी, बालुवाका कणहरु झरी बाटो खराब भईरहेको भन्दै गाडीहरु जफत गर्ने लगायतका बहानाहरु बनाई रकम असुली गरिरहेको ती स्रोतको भनाई रहेको छ ।
असई यादव जिल्ला प्रहरी कार्यालय बारामा करिब २ वर्ष प्रशासन शाखा चलाउँदा प्रहरीको माथिल्लो निकायका अधिकृतहरु सँग सम्बन्ध बनाई राम्रो आम्दानी हुने नेपाल भारतको सिमामा पर्ने बाराको कचोर्वा र ईलाका प्रहरी कार्यालय प्रसौनीमा तस्करहरु सँग लाखौं लाख कमाए पछि हाल प्रहरी चौकी जैतापुरको ईन्चार्जको रुपमा कार्यरत्त रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा करिब ४० हजार टेण्डर बुझाएर जैतापुरको ईन्चार्ज सम्हालेका असई यादवले जे गर्दा पनि प्रहरीको माथिल्लो निकायको ध्यान नजाँदा उनी “दिन दुगुना रात चौगुना” अवैध कार्यहरुलाई प्रश्रय दिईरहेको स्रोतको कथन रहेको छ ।
ईन्चार्ज यादवले गाउँघरमा हुने सामान्य झगडामा पनि चिया, नास्ता खर्च लिई एकतर्फी छलफल गराउने गरेको स्थानिय एक युवाले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । गाउँघरमा हुने सामान्य झै–झगडाका झगडीयाहरुको कुरै नसुनी “तीम्रो गल्ती छ, जिल्ला पठाई दिन्छु” जस्ता डर धाक धम्की देखाई चिया नास्ता खर्च लिने गरेको स्थानियहरुको भनाई रहेको छ ।
प्रहरीको काम शान्ति सुरक्षा दिने तथा अवैध गतिविधि रोक्ने भए पनि असई यादवले त्यसको ठिक विपरित कार्यहरु गरिरहेको भन्दै स्थानियहरुले असई यादव विरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी दिने तयारी गरिरहेको एक स्थानियले यस अनलाईनलाई बताए ।






