सीमा नीतिविरुद्ध माईतिघरमा राष्ट्रिय एकता दलको प्रदर्शन, “डोजर आतंक” अन्त्यको माग

सीमा नीतिविरुद्ध माईतिघरमा राष्ट्रिय एकता दलको प्रदर्शन, “डोजर आतंक” अन्त्यको माग

काठमाडौं, २१ वैशाख

राष्ट्रिय एकता दलले सीमाना क्षेत्रमा लागू गरिएको रु १०० को प्रावधान खारेजी तथा तथाकथित “डोजर आतंक” को अन्त्यको माग गर्दै आज काठमाडौंको माईतिघर मण्डलामा प्रदर्शन गरेको छ। करिब २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यकर्ता तथा नेताहरूले चर्को नाराबाजी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

माईतिघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले सीमाना क्षेत्रमा गरिब नागरिकमाथि भइरहेको अन्याय, कडाइ तथा भेदभावपूर्ण व्यवहारको विरोध गरेका थिए। कार्यक्रम दलका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न भएको थियो। साथै नेता तोयानाथ दहाल, कालानन्द मिश्र र प्यारी तामाङलगायतले पनि सम्बोधन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले सीमाना क्षेत्रमा लागू गरिएको रु १०० को प्रावधानले गरिबमाथि अन्याय भइरहेको आरोप लगाए। “सरकार धनीका लागि नियम फितलो बनाउँछ, तर गरिबका लागि कडा। एयरपोर्टबाट सुन र रक्सी सजिलै छिर्छ, तर किसानले ल्याएको चामलसमेत जाँचिन्छ। यो दोहोरो मापदण्ड अब सहिँदैन,” उनले भने।

उनले डोजर प्रयोग गरेर जनताको घर भत्काउने कार्य तत्काल बन्द गर्नुपर्ने माग गर्दै पूर्व सूचना बिना गरिने कारबाही मानव अधिकारको ठाडो उल्लङ्घन भएको बताए। “हामी सरकारसँग स्पष्ट माग गर्छौं—सीमानाका जनताको अधिकार सुनिश्चित गरियोस्, किसानलाई आवश्यक मलखादको व्यवस्था गरियोस्, र गरिबमाथिको दमन तुरुन्त रोकियोस्,” उनले जोड दिए।

प्रदर्शनका क्रममा सहभागीहरूले “सीमानामा १०० को नियम हटाऊ, गरीबको हक अधिकार बचाऊ!”, “डोजर आतंक अब सहिँदैन!”, “मानव अधिकारको रक्षा गर, दमन होइन न्याय देऊ सरकार!” लगायतका नारा लगाएका थिए।

आयोजकका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दलले आफ्ना मागहरू सम्बोधन नभए आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।