“समुदायको विश्वास र सहकार्यले विद्यालयलाई नयाँ पहिचान दिएको छु” — अध्यक्ष मुकेश कुमार चौरसिया
"समुदायको विश्वास र सहकार्यले विद्यालयलाई नयाँ पहिचान दिएको छु" — अध्यक्ष मुकेश कुमार चौरसिया

वीरगञ्ज २८ जेष्ठ
सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकासमा समुदायको सक्रिय सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण बनेको छ पर्साको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय, ठूलो इटियाही। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसिया को नेतृत्वमा विद्यालयमा विद्युत् जडानदेखि विद्यार्थी भर्ना अभियान, शुद्ध खानेपानी, शिक्षक व्यवस्थापन र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसम्मका उल्लेखनीय काम भएका छन्। विद्यालयको वर्तमान अवस्था, उपलब्धि र आगामी योजनाबारे अध्यक्ष चौरसियासँग गरिएको विशेष कुराकानी :
प्रश्न : तपाईंको नेतृत्वमा विद्यालयमा भएका मुख्य उपलब्धिहरू के–के हुन्?
मुकेश कुमार चौरसिया : हाम्रो पहिलो प्राथमिकता विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्नु थियो। विद्यालय स्थापना भएको दशकौं बितिसक्दा पनि विद्युत् सुविधा उपलब्ध नभएकाले हामीले विद्यालयमा विद्युत् जडान गर्यौं। साथै, सबै कक्षाकोठामा पंखा र बत्तीको व्यवस्था, शुद्ध खानेपानीको सुविधा, आवश्यक शिक्षक नियुक्ति, विद्यार्थी भर्ना अभियान सञ्चालन, विद्यालय ड्रेस वितरण तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई झोला, जुत्ता र शैक्षिक सामग्री उपलब्ध गराउने कार्य सम्पन्न गरेका छौं।
प्रश्न : विद्यार्थी भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउनुभयो?
मुकेश कुमार चौरसिया : हामीले घरदैलो अभियान सञ्चालन गरेर अभिभावकसँग प्रत्यक्ष संवाद गर्यौं। सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि गर्न निरन्तर छलफल र अन्तरक्रिया गरियो। त्यसको सकारात्मक प्रभावस्वरूप विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
प्रश्न : शिक्षाको गुणस्तर सुधारका लागि के–कस्ता प्रयास भइरहेका छन्?
मुकेश कुमार चौरसिया : गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य उद्देश्य हो। त्यसका लागि आवश्यक शिक्षक व्यवस्थापन, नियमित अनुगमन, अतिरिक्त क्रियाकलाप सञ्चालन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा विशेष ध्यान दिएका छौं। शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र विद्यार्थीमैत्री बनाउने प्रयास निरन्तर जारी छ।
प्रश्न : आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विद्यालयले के व्यवस्था गरेको छ?
मुकेश कुमार चौरसिया : कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने हाम्रो प्रतिबद्धता हो। त्यसैले विपन्न विद्यार्थीलाई झोला, जुत्ता, स्टेशनरी सामग्रीलगायत आवश्यक सहयोग उपलब्ध गराइएको छ। साथै, छात्रवृत्ति व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं।
प्रश्न : विद्यालयका आगामी योजनाहरू के–के छन्?
मुकेश कुमार चौरसिया : विद्यालयलाई अझ व्यवस्थित, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ। कम्प्युटर शिक्षाको विस्तार, पुस्तकालय सुदृढीकरण, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउने योजना बनाएका छौं। समयानुकूल शिक्षा र आधुनिक पूर्वाधारमार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन हामी प्रतिबद्ध छौं।
प्रश्न : अभिभावक तथा समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?
मुकेश कुमार चौरसिया : विद्यालयको विकास व्यवस्थापन समितिको प्रयासले मात्र सम्भव हुँदैन। अभिभावक, शिक्षक, विद्यार्थी र सम्पूर्ण समुदायको सहकार्य तथा विश्वास अपरिहार्य हुन्छ। यहाँसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक, स्थानीयवासी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि यही सहकार्य र समर्थनको अपेक्षा गर्दछु।






