आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह सम्पन्न
आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह सम्पन्न

वीरगञ्ज ३० जेष्ठ
ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा आयोजित “आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह” वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै उपप्रमुख आलमले ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि तथा नैतिक मूल्यको विकासका लागि गर्दै आएका कार्यहरू अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले राजयोगले मानिसलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउनुका साथै आपसी सद्भाव, सहयोग र सहकार्यको भावनालाई मजबुत बनाउने उल्लेख गर्नुभयो।
उपप्रमुख आलमले आध्यात्मिक शिक्षाले समाजमा शान्ति, अनुशासन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विश्व मानव समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने धारणा राख्नुभयो।
उहाँले वीरगञ्ज महानगरपालिकाको तर्फबाट ब्रह्माकुमारी राजयोग केन्द्रका सामाजिक तथा आध्यात्मिक गतिविधिहरूमा आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आध्यात्मिक जागृतिमार्फत सकारात्मक समाज निर्माण र विश्व शान्तिको सन्देश प्रवाह गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।






