भारतीय महावाणिज्य दूतावास, वीरगञ्जद्वारा भरतपुरमा विशेष योग सत्र आयोजना
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जद्वारा भरतपुरमा विशेष योग सत्र आयोजना

भरतपुर २ असार
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले १६ जुन २०२६ मा चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा विशेष योग कार्यक्रमको आयोजना गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण नदी तटमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री सुश्री बिनु राई माझी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत श्री देवी सहाय मीनाले गर्नुभएको थियो।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग चितवनका एसपीसहित विभिन्न सरकारी निकायका प्रतिनिधि तथा समाजसेवीहरू को उपस्थिति रहेको थियो। साथै नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति, उद्योग वाणिज्य संघ, आर्ट अफ लिभिङ, भूतपूर्व सैनिक संगठन लगायत सामाजिक संस्थाका प्रतिनिधिहरू तथा स्थानीय नागरिकले सक्रिय सहभागिता जनाएका थिए।
महावाणिज्य दूत श्री देवी सहाय मीनाले योगको शारीरिक, मानसिक तथा आध्यात्मिक महत्वबारे प्रकाश पार्दै योग भारतको प्राचीन सभ्यताको अमूल्य धरोहर भएको बताउनुभयो। उहाँले योगले विश्वव्यापी रूपमा मानव स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै यसले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख अतिथि मन्त्री बिनु राई माझीले योग स्वस्थ जीवनशैलीको आधार भएको बताउँदै तनावमुक्त समाज निर्माण र सकारात्मक ऊर्जा प्रवाहमा यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा योग प्रशिक्षक हरू द्वारा “सामान्य योग प्रोटोकल” प्रदर्शन गरिएको थियो, जसमा सहभागीहरूले सामूहिक रूपमा योग अभ्यास गरेका थिए। नारायणी नदीको मनोरम वातावरणमा सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूलाई प्रकृतिसँग जोडिँदै योगको अनुभूति गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।






