ग्वाङ्झाउमा एनआरएनएको भव्य शक्ति प्रदर्शन हुँदै, ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा

ग्वाङ्झाउमा एनआरएनएको भव्य शक्ति प्रदर्शन हुँदै, ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा

काठमाडौं १७ असार

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया प्रशान्त क्षेत्रको आयोजनामा आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको क्राउन प्लाजा होटल ग्वाङ्झाउ सिटी सेन्टरमा हुने ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार सम्मेलनको ८० प्रतिशतभन्दा बढी तयारी सम्पन्न भइसकेको छ भने बाँकी काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।

“Rising Together, Leading Forward” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनलाई संस्थागत एकतापछिको गैरआवासीय नेपालीहरूको सबैभन्दा ठूलो, व्यवस्थित र नतिजामुखी क्षेत्रीय सम्मेलनका रूपमा हेरिएको छ। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकबाट ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

एसिया प्रशान्त क्षेत्रीय संयोजक (आरसी) दीपक कँडेलले सम्मेलनको सम्पूर्ण तयारी योजनाअनुसार अघि बढिरहेको जानकारी दिए। उनका अनुसार सम्मेलनस्थल व्यवस्थापन, होटल बुकिङ, प्रतिनिधिको आवास, अतिथि सत्कार, सुरक्षा समन्वय, कार्यपत्र तयारी, प्रायोजक व्यवस्थापन तथा विशिष्ट अतिथिहरूलाई निमन्त्रणा पठाउने काम सम्पन्न भइसकेको छ।

“हामी सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन, विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्ने साझा अभियानका रूपमा लिएका छौँ,” कँडेलले भने, “लगानी, पर्यटन, व्यापार, प्रविधि, युवा र पुस्तान्तरणीय सम्बन्धलाई एउटै मञ्चमा केन्द्रित गरेर व्यवहारिक निष्कर्ष निकाल्ने हाम्रो लक्ष्य हो।”

उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट उत्साहजनक रूपमा दर्ता भइरहेको जानकारी दिँदै यसले एनआरएन अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

एसिया प्रशान्त उपक्षेत्रीय संयोजक (डिआरसी) भविन्द्र बस्नेतले यसपटकको सम्मेलन विगतका सम्मेलनभन्दा फरक र उपलब्धिमूलक हुने दाबी गरे। उनका अनुसार सम्मेलन केवल छलफलमा सीमित नहुने, बरु प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन, व्यापारिक साझेदारी, जलविद्युत, सूचना प्रविधि, कृषि, महिला उद्यमशीलता, युवा नेतृत्व तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई मातृभूमिसँग जोड्ने स्पष्ट कार्ययोजनासहित अघि बढ्नेछ।

बस्नेतले थाईल्याण्ड, बर्मा, मलेसिया र फिजीमा रहेका नेपालीभाषी पिएनओ समुदायलाई समेटेर विशेष सत्र आयोजना गरिने जानकारी पनि दिए। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई भाषा, संस्कृति, इतिहास, पर्यटन र लगानीका अवसरसँग जोड्ने कार्यक्रम सम्मेलनको अर्को विशेष आकर्षण रहने जनाइएको छ।

उपक्षेत्रीय संयोजक लालसिंह खड्काले सम्मेलन समापनका अवसरमा जारी गरिने ‘ग्वाङ्झाउ घोषणा–२०२६’ मार्फत नेपाल सरकारलाई लगानी, पर्यटन, आर्थिक कूटनीति, डायस्पोरा साझेदारी तथा नीतिगत सुधारका विषयमा स्पष्ट सुझाव र कार्ययोजना प्रस्तुत गरिने बताए।

आयोजकका अनुसार सम्मेलनका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले रहनेछन् भने एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको विशेष उपस्थिति पनि सुनिश्चित भइसकेको छ। साथै संस्थाका पूर्वअध्यक्षहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, कलाकार, विज्ञ तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहनेछ।

दुईदिने सम्मेलनमा लगानी, पर्यटन, व्यापार तथा आर्थिक सहकार्य, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता, सूचना प्रविधि, पुस्तान्तरणीय सम्बन्ध र नेपाल–डायस्पोरा सहकार्यका विषयमा पाँचवटा विषयगत सत्र सञ्चालन गरिने कार्यक्रम रहेको छ।

सम्मेलनको अन्तिम दिन ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकार र सम्बन्धित निकायलाई कार्यान्वयनमुखी सुझाव पेश गरिनेछ।

आयोजकका अनुसार होटल बुकिङ, सम्मेलनस्थल व्यवस्थापन, प्रतिनिधिको आवास तथा स्वागत व्यवस्थापन सम्पन्न भइसकेको छ भने प्रायोजक छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। सम्मेलनको इभेन्ट पार्टनरका रूपमा वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन रहेका छन् भने उपाध्यक्ष खगेन्द्र न्यौपाने, दधिवाल खड्का लगायत विभिन्न देशमा रहेका गैरआवासीय नेपाली अभियन्ता तथा व्यवसायीहरूले सम्मेलनलाई सफल बनाउन सक्रिय सहकार्य गरिरहेका छन्।

आयोजकको विश्वास छ, संस्थागत एकतापछि आयोजना हुन लागेको यो बृहत् सम्मेलनले विश्वभर छरिएका नेपालीलाई एउटै साझा मञ्चमा जोड्दै नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, आर्थिक कूटनीति तथा डायस्पोरा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेछ। ‘आरोहण २०२६’ लाई गैरआवासीय नेपाली आन्दोलनको नयाँ अध्याय सुरु गर्ने ऐतिहासिक सम्मेलनका रूपमा समेत हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।