मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक निर्णय, सबै संयन्त्र तयारी अवस्थामा
मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक निर्णय, सबै संयन्त्र तयारी अवस्थामा

वीरगञ्ज २ साउन
मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगञ्ज महानगरपालिकाले आकस्मिक रूपमा नगर विपद् व्यवस्थापन मूल समितिको बैठक बसेर महत्वपूर्ण निर्णयहरू गरेको छ।
शनिबार कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा उनको सचिवालयमा सम्पन्न बैठकले मनसुन पूर्वतयारी, अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन तथा वडा कार्यालयहरूको तयारी अवस्थालगायतका विषयमा विस्तृत छलफल गर्दै आवश्यक निर्णय गरेको हो।
बैठकले मनसुन सक्रिय भइसकेको अवस्थामा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन, जनशक्ति, पूर्वानुमान तथा पूर्वतयारीलाई चुस्त राख्ने निर्णय गरेको छ। साथै, मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई सक्रिय राख्ने सहमति गरिएको छ।
महानगर क्षेत्रका केही स्थानमा मनसुनका कारण समस्या देखिन थालेकाले तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त टोलीले स्थलगत अवस्थाको अध्ययन, समस्या पहिचान तथा समाधानका लागि आवश्यक पहल गर्नेछ। साथै, आगामी दिनमा आउन सक्ने सम्भावित जोखिमको आकलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पूर्वतयारी समेत गरिने जनाइएको छ।
विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौती तथा महामारीको जोखिमलाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ। सम्भावित स्वास्थ्य समस्याको प्रभावकारी व्यवस्थापनका लागि सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने तथा आवश्यक निर्देशन र पत्राचार गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी, सम्भावित विपद्को पूर्वविश्लेषण गर्दै महानगरका सबै वडा कार्यालयलाई पूर्ण तयारी अवस्थामा रहन तत्काल पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।
कार्यवाहक प्रमुख आलमले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाको सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कतामा राखिएको बताउँदै नगरवासीलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राजु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।
महानगरपालिकाले मनसुनजन्य प्रकोपबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न आफ्नो सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ।






