वन अतिक्रमणविरुद्ध प्रशासनको कडा कदम : रौतहटमा अवैध रूपमा रोपिएको धान नष्ट, वन क्षेत्रमा पुनः वृक्षारोपण
वन अतिक्रमणविरुद्ध प्रशासनको कडा कदम : रौतहटमा अवैध रूपमा रोपिएको धान नष्ट, वन क्षेत्रमा पुनः वृक्षारोपण

रौतहट ३ साउन
रौतहट जिल्लाको गुजरा नगरपालिका–२, चोचा स्थित श्री शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अवैधरूपमा अतिक्रमण गरी करिब एक महिनाअघि खनजोत गरेर रोपिएको धान प्रशासनले हटाएको छ। अतिक्रमित क्षेत्रमा टिक, मसला, जामुन लगायतका विभिन्न प्रजातिका बिरुवा रोपेर वन क्षेत्र पुनः संरक्षण गरिएको छ।
समूहका पदाधिकारीका अनुसार वन क्षेत्रमा खेती नगर्न पटक–पटक आग्रह गर्दा समेत अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कारबाही अघि बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखको समन्वय र डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको अग्रसरतामा मिति २०८३ साउन ३ गते डिभिजन वन कार्यालयका कर्मचारी, रंगपुर प्रहरी चौकी, जङ्गलसहिया सशस्त्र प्रहरी बेस तथा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको संयुक्त टोलीले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो।
कारबाहीका क्रममा वन क्षेत्रमा अवैध रूपमा रोपिएको धान नष्ट गरी उक्त स्थानमा टिक, मसला, जामुन लगायतका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।
वन ऐनअनुसार अतिक्रमण दण्डनीय
वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ अनुसार राष्ट्रिय वन वा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्ने, वन क्षेत्र खनजोत गर्ने, खेती गर्ने वा वनको उद्देश्यविपरीत प्रयोग गर्ने कार्य कानुनविपरीत मानिन्छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई अतिक्रमण हटाउने, क्षतिपूर्ति असुल गर्ने, जरिवाना तथा आवश्यकताअनुसार कैद सजायसम्मको कानुनी व्यवस्था रहेको छ।
डिभिजन वन कार्यालयले वन क्षेत्र सार्वजनिक सम्पत्ति भएकाले कुनै पनि व्यक्तिले अतिक्रमण वा अवैध खेती नगर्न आग्रह गर्दै यस्ता गतिविधि दोहोरिए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।
वन संरक्षण तथा जैविक विविधता जोगाउन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयबीचको समन्वयलाई प्रभावकारी मानिएको छ।






