रौतहटमा तस्करी गरी ल्याइएको सालको गोलिया काठ बरामद
रौतहटमा तस्करी गरी ल्याइएको सालको गोलिया काठ बरामद

रौतहट ४ साउन
रौतहटमा अवैध रूपमा चोरी–तस्करी गरी ल्याइएको साल जातको गोलिया काठ चिरान गरिरहेको अवस्थामा संयुक्त गस्ती टोलीले काठ बरामद गरेको छ।
चोचा सव-डिभिजन वन कार्यालय, रौतहट तथा सशस्त्र प्रहरी बेस, जङ्गलसहियाबाट खटिएको संयुक्त गस्ती टोलीले गुजरा नगरपालिका–२, चोचा गाउँमा छापा मार्दा तस्करी गरी ल्याइएको साल जातको गोलिया काठ चिरान गरिरहेको अवस्थामा फेला पारेको हो।
कारबाहीका क्रममा टोलीले साल जातको गोलिया काठ एक थान, ३.३६ क्युबिक फिट परिमाणको काठ बरामद गरेको जनाएको छ।
बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
वन पैदावारको अवैध चोरी, ओसारपसार तथा चिरान नियन्त्रणका लागि संयुक्त अनुगमन तथा गस्तीलाई थप प्रभावकारी बनाइने वन डिभिजन कार्यालयले जनाएका छन्।






