राजविराज आए मन्त्री, प्रतिष्ठानमा परेन नजर : सप्तरीवासीको प्रश्न–अब कहिले खुल्छ सेवा ?

राजविराज आए मन्त्री, प्रतिष्ठानमा परेन नजर : सप्तरीवासीको प्रश्न–अब कहिले खुल्छ सेवा ?

राजविराज ३१ साउन 

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सप्तरीको राजविराजमा विभिन्न स्वास्थ्य संस्थाको निरीक्षण तथा अनुगमन गरे पनि राजविराज नगरपालिका–१० स्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति अपेक्षित चासो नदेखाएको भन्दै स्थानीय नागरिक, युवा, विद्यार्थी तथा राजनीतिकर्मीहरूले असन्तुष्टि जनाएका छन्।

सप्तरीवासीको लामो संघर्ष र बलिदानीपूर्ण आन्दोलनको उपलब्धिका रूपमा स्थापित प्रतिष्ठान वर्षौंदेखि निर्माण तथा सञ्चालनको प्रतीक्षामा रहँदा स्थानीयमा निराशा बढ्दै गएको छ। प्रतिष्ठान सञ्चालनका लागि पटक–पटक आश्वासन आए पनि ठोस कार्ययोजना र निश्चित समयसीमा सार्वजनिक हुन नसकेको स्थानीयको गुनासो छ।

स्थानीयवासीले प्रतिष्ठानलाई सप्तरीको स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र मधेशको स्वास्थ्य शिक्षा, रोजगारी र विशेषज्ञ स्वास्थ्य सेवासँग जोडिएको महत्वपूर्ण परियोजनाका रूपमा लिएका छन्। प्रतिष्ठान पूर्ण रूपमा सञ्चालनमा आएमा स्थानीयले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने र स्वास्थ्य क्षेत्रमा नयाँ रोजगारीका अवसर सिर्जना हुने उनीहरूको अपेक्षा छ।

तर, सरकार परिवर्तनसँगै आउने आश्वासन दोहोरिने र कार्यान्वयन पक्ष कमजोर रहने प्रवृत्तिले आफूहरू निराश भएको स्थानीय युवा तथा विद्यार्थीको भनाइ छ। उनीहरूले प्रतिष्ठानलाई राजनीतिक भाषण र घोषणामा सीमित नराखी तत्काल आवश्यक पूर्वाधार, जनशक्ति तथा प्रशासनिक प्रक्रिया पूरा गरी सेवा सञ्चालन गर्न माग गरेका छन्।

स्थानीय नागरिकले मन्त्रीसँग प्रश्न गरेका छन्, “राजविराज–१० मा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान कहिले पूर्ण रूपमा सञ्चालन हुन्छ? सप्तरीवासीले यसको प्रत्यक्ष सेवा कहिलेदेखि पाउने?”

उनीहरूले अब आश्वासन होइन, ठोस निर्णय, निश्चित समयसीमा र कार्यान्वयनको परिणाम चाहिएको बताएका छन्। सप्तरीवासीको लामो संघर्षबाट प्राप्त प्रतिष्ठानलाई कागजी योजनामै सीमित राख्नु जनताको भावनामाथि अन्याय हुने भन्दै स्थानीयले सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।