ब्रह्माकुमारी संस्थाद्वारा पुण्य तिथिमा रक्तदान तथा निःशुल्क नेत्र परीक्षण शिविर सम्पन्न
ब्रह्माकुमारी संस्थाद्वारा पुण्य तिथिमा रक्तदान तथा निःशुल्क नेत्र परीक्षण शिविर सम्पन्न

वीरगञ्ज ६ भदौ
ब्रह्माकुमारी संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. प्रकाशमणिज्यूको १९औँ पुण्यस्मृति दिवसको अवसरमा ब्रह्माकुमारीज समाज सेवा प्रभाग, वीरगञ्जको आयोजनामा एकदिने रक्तदान तथा निःशुल्क नेत्र परीक्षण शिविर सम्पन्न भएको छ।
वीरगञ्जकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको हो।
शिविरमा ३८ जना पुरुष र ५ जना महिला गरी ४३ जनाले रक्तदान गरेका थिए। त्यस्तै, किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क नेत्र परीक्षण शिविरबाट ५० जना महिला र ३० जना पुरुष गरी ८० जना लाभान्वित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले ब्रह्माकुमारी संस्थाले राजयोग ध्यान तथा आध्यात्मिक ज्ञानमार्फत मानवमा शान्ति, भाइचारा र चरित्र उत्थानका लागि महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो। उहाँले संस्थाले समय–समयमा आयोजना गर्दै आएका रक्तदानलगायत सामाजिक सेवामूलक कार्यक्रमले अमूल्य जीवन बचाउन सहयोग गर्नुका साथै समाजमा सकारात्मक सन्देश र प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, उपसभापति मधु राणा, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दिन ठकुराई, इनोभेटिभ सोसाइटी नेपालका अध्यक्ष कमल चौगाई, सशस्त्र प्रहरीका इन्स्पेक्टर चन्द्रकान्त पौडेल, असई विद्यानन्द चौधरी, वीरगञ्ज कपडा बैंकका सचिव तथा पत्रकार कन्हैया पटेल, राजकुमार सर्राफ र जाकिर हुसैनलगायतको उपस्थिति थियो।
त्यस्तै, समाज सेवा प्रभागका वीरगञ्ज क्षेत्रीय संयोजक ब्रह्माकुमार बेली, सहसंयोजकद्वय ब्रह्माकुमार छोटेलाल र ब्रह्माकुमारी पूर्णिमा, ब्रह्माकुमारी ज्ञानु, रक्तसञ्चार केन्द्र तथा किरण आँखा अस्पतालका प्राविधिक, नर्सिङ क्याम्पसका विद्यार्थी तथा रक्तदाताहरूको समेत सहभागिता रहेको थियो।
शिविरमार्फत रक्तदान र आँखाको निःशुल्क परीक्षणजस्ता सेवामूलक गतिविधि सञ्चालन गरी मानवसेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।





