रसुवा–भोटेकोशी बाढीपीडितका लागि डोकैला बहुअरीका शिक्षक–विद्यार्थी जुटाए २० हजार ६१० रुपैयाँ
रसुवा–भोटेकोशी बाढीपीडितका लागि डोकैला बहुअरीका शिक्षक–विद्यार्थी जुटाए २० हजार ६१० रुपैयाँ

वीरगंज १८ भदौ
रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि पर्साको बहुदरमाई नगरपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरीले राहत संकलन अभियान सञ्चालन गरेको छ।
विद्यालयका माध्यमिक तहका सामाजिक अध्ययन विषयका शिक्षक रामबालक प्रसाद यादवका अनुसार विद्यालय परिवारको सक्रियतामा सञ्चालित अभियानबाट २० हजार ६१० रुपैयाँ आर्थिक सहयोग संकलन भएको हो।
बाढीका कारण नागरिकले ज्यान गुमाउनुका साथै घरबार, धनसम्पत्ति तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका बेला पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू अभियानमा सहभागी भएका थिए।
संकलित रकमले विपद्को कठिन घडीमा रहेका बाढीपीडित परिवारलाई केही हदसम्म राहत पुग्ने विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ।
विद्यालयको यो अभियानले आर्थिक सहयोग जुटाउनुका साथै विद्यार्थीहरूमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहयोगी भावना तथा विपद्का बेला एकअर्कालाई साथ दिने संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले बाढीपीडित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विपद्मा परेकालाई सहयोग गर्नु नै सच्चा मानवता भएको सन्देशसहित अभियानमा सहभागी हुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गरेको छ।




