वन संरक्षणमा सहकार्य आवश्यक : मञ्जुर अहमद
वन संरक्षणमा सहकार्य आवश्यक : मञ्जुर अहमद

पर्सा २६ भदौ
आज सवैया साझेदारी वन उपभोक्ता समूहको आयोजनामा आयोजित भेरी भेटौला कार्यक्रममा
डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन र विकासका लागि वन कार्यालय तथा उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।
सवैया साझेदारी वन उपभोक्ता समूहको प्राङ्गणमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अहमदले वन कार्यालयको मुख्य जिम्मेवारी वन संरक्षण, वन व्यवस्थापन तथा उत्पादन र वन विकास रहेको बताए।
उनले वन संरक्षण सरकारी निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै स्थानीय उपभोक्ता र साझेदारी वन समूहको सक्रिय सहभागिता आवश्यक रहेको बताए। वन क्षेत्रलाई हराभरा बनाउँदै वातावरणीय सन्तुलन कायम राख्न वृक्षरोपण, दिगो वन व्यवस्थापन तथा संरक्षणका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
“वन संरक्षण सबैको साझा जिम्मेवारी हो, वन कार्यालय र उपभोक्ता समूह बीचको सहकार्यबाट मात्रै संरक्षणलाई प्रभावकारी बनाउन सकिन्छ,” अहमदले भने।
सवैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखन लाल साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन अधिकृत नवनीत मिश्रा विशिष्ट अतिथि तथा समूहका उपाध्यक्ष असलम आलम अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा समूहका सदस्य–सचिव सोनम आचार्यले सञ्चालन गरेका थिए। कार्यक्रममा भैयाराम पटेल, जयनारायण यादव, राजीव साह सोनार, नेसार अहमद, रामअयोध्या यादव, राधिका लामा, सुरेश पटेल, सुरज कुर्मी, गीता देवी कलवारिन लगायत समूहका सदस्य तथा सब–डिभिजन वन कार्यालय सवैया का कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वन, जंगल तथा वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र वन कार्यालय तथा उपभोक्ता समूहबीच को सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
पर्सामा दुई वर्ष डिभिजन वन प्रमुखका रूपमा कार्यसम्पादन गरेका अहमदको रौतहट जिल्ला वन कार्यालयमा सरुवा भएपछि उनको सम्मान तथा आगामी दिनमा सहकार्य निरन्तर राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ।






