ओसिस माविमा अन्तरसदन मेहन्दी प्रतियोगिता, स्वेता मण्डल प्रथम
ओसिस माविमा अन्तरसदन मेहन्दी प्रतियोगिता, स्वेता मण्डल प्रथम

वीरगञ्ज २६ भदौ
कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा वीरगञ्जस्थित ओसिस माध्यमिक विद्यालयमा आयोजित अन्तरसदन मेहन्दी प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
विद्यार्थीमा रहेको सिर्जनशीलता, कलात्मक क्षमता तथा सांस्कृतिक चेतनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यालयका विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
विद्यालयका संस्थापक इन्द्रदेव शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सृष्टि ब्युटी पार्लरकी सञ्चालिका तथा पूर्व शिक्षिका कौसिला सत्याल निर्णायकको भूमिकामा रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षिका सम्झना ठाकुरले गर्नुभएको थियो भने प्रतियोगिताको व्यवस्थापन शिक्षिका राम दुलारी चौधरीले गर्नुभएको थियो।
प्रतियोगितामा जनक सदनकी कक्षा ७ की स्वेता मण्डलले प्रथम स्थान हासिल गरेकी छन्। सोही सदनकी नन्दनी मण्डल दोस्रो भएकी छन्।
त्यसैगरी सिद्धार्थ सदनकी कक्षा ५ की इशीका मण्डल तेस्रो तथा तेन्जिङ सदनकी कक्षा ७ की निकिता शर्मा चौथो भएकी छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
विद्यालयले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्नुका साथै सिर्जनशीलता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ। यस्ता सांस्कृतिक गतिविधिले विद्यार्थीलाई नेपाली मौलिक परम्परा र संस्कृतिसँग जोड्नसमेत सहयोग पुग्ने विद्यालयको विश्वास छ।
कुशे औँसीका अवसरमा आयोजित मेहन्दी प्रतियोगिताले विद्यार्थीलाई आफ्नो कलात्मक प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै विद्यालयमा आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।





