अस्पतालको गेटमै शिशु जन्माएकी बबितालाई सुनिता साहको राहत
अस्पतालको गेटमै शिशु जन्माएकी बबितालाई सुनिता साहको राहत

राजविराज, २६ भदौ
आर्थिक अभावका कारण अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिन नसकेर अस्पतालकै प्रवेशद्वार नजिक सडक पेटीमा शिशु जन्माउन बाध्य भएकी राजविराज–१४ की बबिता पासवानलाई समाजसेवी सुनिता साह (क्रान्ति) ले राहत सामग्री प्रदान गरेकी छन्।
राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी राजविराज–७ निवासी साहले शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालमै पुगेर सुत्केरी बबिता र उनका नवजात शिशुका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्।
विपन्न परिवारकी बबिता तीन दिनअघि प्रसूति सेवाका लागि अस्पताल पुगेकी थिइन्। रकम अभावका कारण आवश्यक व्यवस्थापन गर्न बाहिर निस्किएका बेला अस्पतालको प्रवेशद्वार नजिकै उनलाई प्रसव पीडा सुरु भएको थियो। त्यसपछि उनले सडक पेटीमै शिशुलाई जन्म दिएकी थिइन्।
हाल बबिता र उनका नवजात शिशु अस्पतालमै उपचार तथा हेरचाहमा छन्।
बबिताको पीडामा केही राहत पुर्याउने उद्देश्यले साहले आमा र बच्चाका लागि लत्ताकपडा, झुल, सेनिटरी प्याड, साबुन, पाउडर, पौष्टिक आहारलगायत करिब एक महिनासम्म पुग्ने खाद्यान्न तथा आवश्यक सामग्री प्रदान गरेकी छन्।
आर्थिक अभावका कारण अस्पतालको गेटमै प्रसूति हुन पुगेकी बबिताको घटनाले स्वास्थ्य सेवामा पहुँच, विपन्न नागरिकको उपचार तथा प्रसूति सेवामा राज्यको जिम्मेवारीबारे समेत गम्भीर प्रश्न उठाएको छ।






