शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै
शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

प्रेमचन्द्र झा/भदौ ३० रौतहट
विश्वकर्मा पूजाको अवसर पारेर रौतहटको शिवनगरमा विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसहितको स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
श्री नेपाल विश्वकर्मा लोहार संघ र सृजनात्मक समाज कल्याण केन्द्र, रौतहटको आयोजनामा हुने शिविरमा नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जका कन्सल्ट्यान्ट फिजिसियन डा. रञ्जित यादवसहितको चिकित्सकीय टोलीले बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श दिने जनाइएको छ।
शिविरमा विशेषगरी मधुमेह (चिनी रोग), थाइराइड, उच्च रक्तचाप, दम, मुटुसम्बन्धी समस्या तथा अन्य विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिने आयोजकले जनाएको छ।
स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन शिविरमा आवश्यक प्रयोगशाला तथा स्वास्थ्यसम्बन्धी विभिन्न परीक्षणसमेत निःशुल्क गरिनेछ। जसअनुसार मधुमेह परीक्षणका लागि Fasting तथा PP Sugar, थाइराइडका लागि TSH, दम तथा फोक्सोसम्बन्धी समस्या पहिचानका लागि Pulmonary Function Test (PFT), मुटुको अवस्था जाँचका लागि ECG तथा शरीरमा कोलेस्ट्रोलको अवस्थाबारे जानकारी लिन Lipid Profile परीक्षण गरिने बताइएको छ।
त्यसैगरी स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार आवश्यक पर्ने चिनी रोग, उच्च रक्तचाप, खोकीलगायत विभिन्न रोगका औषधिसमेत निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
विश्वकर्मा पूजालाई केवल धार्मिक तथा सांस्कृतिक उत्सवमा सीमित नराखी समुदायको स्वास्थ्यप्रति समेत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागिएको आयोजकहरूको भनाइ छ। विशेषगरी मधुमेह, रक्तचाप, थाइराइड तथा मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न सके उपचार र नियन्त्रणमा सहज हुने भएकाले शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
आयोजकले शिवनगर तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि सेवा लिन आग्रह गरेको छ।
विश्वकर्मा पूजाको अवसरमा आयोजना हुन लागेको उक्त स्वास्थ्य शिविरले धार्मिक–सांस्कृतिक उत्सवसँगै सामुदायिक स्वास्थ्य सेवाको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।






